सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको सामान्य लक्ष्य दिएको छ।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले देव खनाल र विलियम बोसिस्टोको अर्धशतक जोडे पनि कर्णाली २० ओभरमा १३३ रनमा अलआउट भयो। कर्णालीलाई सस्तोमा रोक्ने क्रममा विराटनगरका प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए।
देवले ५३ रन जोड्दा बोसिस्टोले ६६ रन बनाए। देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्क प्रहार गरे।
त्यसअघि ओनपर शिखर धवन भने ५ रनमा आउट भए। उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतिश जिसीले बोल्ड गरे। त्यसअघि उनले १ चौका प्रहार गरे।
यसअघिका तीन मध्ये एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए। उनले काठमाडौं गुर्खाजविरूद्ध ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए।
कम्तिमा चार खेल खेल्न कर्णालीसँग सम्झौता गरेका भारतीय राष्ट्रिय टोलीका पूर्व ओपनर धनवले चार खेलमा १३६ रन जोड्न सके।
धनव आउट भएपछि अर्को ओभरमा चाडविक वाल्टन १ रनमा क्रिस सोलको बलमा आउट भए। त्यसपछि देव र बोसिस्टोले कर्णालीको इनिङ्ग्स सम्हालेका थिए। दुईबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो।
१६औं ओभरमा बसिरको बलमा देव आउट भएपछि अर्को ओभरमा कर्णालीका अर्जुन घर्ति अकिब इल्यासबाट १ रनमा बोल्ड भए।
बोसिस्टो १९औं ओभरको अन्तिम बलमा क्रिस सोलको एलबिडब्लूको धरापमा परेका थिए।
अन्तिम ओभरको पहिलो बलमा जिशन मक्सुदलाई प्रतिश जिसीले २ रनमा बसिर अहमदबाट क्याच गराए। तीन बलपछि नन्दन यादव एलबिडब्लूको धरापमा पर्दा अर्को बलमा युनिस ठकुरी रनटआउट भए। अन्तिम बलमा प्रतिशले विपिन शर्मालाई पनि क्याच गराए।
अन्तिम ओभरमा प्रतिशले तीन विकेट लिँदा रन दिएनन्। कर्णालीले अन्तिम ओभरमा एक रनआउटसहित चार विकेट गुमायो। अघिल्लो ओभरको अन्तिम बलमा पनि विकेट गुमाउँदा कर्णालीले सात बलको अन्तरमा पाँच विकेट गुमायो।
बलिङमा प्रतिशले चार विकेट लिँदा १७ रन दिए। क्रिस सोल र बसिर अहमदले दुई दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने फेरि विकेटविहीन बने। उनले एनपिएलको चार खेलमा एक विकेट मात्र लिन सकेका छन्।
यसअघि तीन-तीन खेल खेल्दा दुवै टोलीले एक एक जित निकालेका छन्।