सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स लगातार तीन खेलमा पराजित भएको छ। जारी एनपिएलमा लगातार तीन खेल गुमाउने लुम्बिनी पहिलो टोली बन्यो।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको पहिलो खेलमा लुम्बिनीलाई सुदूरपश्चिम रोयल्सले ४५ रनले पराजित गर्यो।
सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्न सफल भयो। जितसँगै सुदूरपश्चिम तीन खेलबाट छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल नै जितेको जनकपुर बोल्ट्स अंक तालिकाको दोस्रो स्थानमा झरेको छ।
शनिबार सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी कुनै पनि बेल सम्हालिन सकेन। लुम्बिनीले चार ओभरभित्र पाँच विकेट गुमाएको थियो। सुरुमै दबाबमा परेपछि ब्याटिङमा आएका विवेककुमार यादवले लुम्बिनीको इनिङग्स उकास्न खोजे पनि उनले अरु ब्याटरबाट साथ पाएनन्।
लुम्बिनीले विवेकको नटआउट ७७ रनको मद्दतमा ९ विकेटको क्षतिमा १४२ रन जोड्न सक्यो। विवेकले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।
ओपनर अर्जुन साउद इनिङग्सको पहिलो बलमै स्कट कुगेलेइनको डलबिडब्लूको धरापमा परेका थिए। छैटौं बलमा अर्का ओपनर उन्मुक्त चन्द एलबिडब्लू नै आउट भए।
त्यसपछि कप्तान रोहित पौडेल ५ रनमा दोस्रो ओभरको पाँचौ बलमा ब्रान्डन माक्मलेनको बलमा इशान पाण्डेबाट समातिए।
चौथो ओभरमा टम मूर्स ७ रनमा आउट भए। माक्मलेनले मुर्सलाई इशानबाट क्याच गराएको अर्को बलमा सान बिन जफरलाई एलबिडब्लूको धरापमा परेका थिए। जसका कारण लुम्बिनीले चार ओभरमा १९ रन जोड्दा ५ विकेट गुमाएको थियो।
त्यसपछि सन्दीप जोराले २० रन जोडेका थिए। उनले छैटौं विकेटका लागि विवेक यादवसँग ३७ रनको साझेदारी गरे। दिनेश अधिकारी १४ रन र रेमन्ड सिमन्स शून्यमा आउट भए। दुवैलाई सइफ जइबले १६औं ओभरको तेस्रो र चौथो बलमा आउट गरेका थिए। सूर्य तामाङ ७ रनमा आउट भए।
बलिङमा सुदूरपश्चिमका माक्मलेन र सइफ जबइले ३-३ विकेट लिए। स्कट कुगेलेइनले दुई विकेट लिए।
त्यसअघि लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन जोड्यो।
सुदूरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गरे। १८औं ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच हुनुअघि उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
अर्का ओपनर विनोद भण्डारी १७ रन जोडेर आउट भए। सइबसँग ४९ रनको ओपनिङ साझेदारी गरेका भण्डारीले १७ रन जोडे।
त्यसपछि ब्रान्डन माक्मलेन २० बलमा २३ रन जोडेर आउट भए।
तेस्रो विकेटको रुपमा सइब आउट भएको अर्को बलमा आरिफ शेखलाई शून्यमा सिमन्सले साद बिन जफरबाट क्याच गराएका थिए।
कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोडे। दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कुगेलेइनले ६ बलमा १ छक्का हिर्काए।
बलिङमा लुम्बिनीका रेमन्ड सिमन्सले २ विकेट लिए। उनले ४ ओभरमा ३२ रन दिए।