नेपाल प्रिमियर लिग (एनपिएल) का लागि काठमाडौं गुर्खाजले वेल्सका अलराउन्डर ड्यान डाउथवेटलाई आबद्ध गरेको छ।
काठमाडौँ गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले डाउथवेटको आगमनमा खुसी व्यक्त गरेका छन्।
काठमाडौंमा आबद्ध भएपछि डाउथवेट पनि उत्साहित छन्। उनले भने, 'काठमाडौं गुर्खाजमा सामेल हुन पाउँदा म धेरै गर्व महसुस गरिरहेको छु। म टोली र प्रशंसकहरूको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु। यो सिजनलाई अविस्मरणीय बनाऔं।’
विदेशी खेलाडीका रूपमा उनी चौथो खेलाडी हुन्। काठमाडौंले यसअघि डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गर्हार्ड इरास्मस र इंग्ल्यान्ड घरेलु क्रिकेट स्टार तथा बीबीएल अनुभवी स्टीभी सीन एस्किनाजीलाई अनुबन्ध गरिसकेको छ।
काठमाडौंको 'मार्की' खेलाडीमा करण केसी रहेका छन्। एनपिएल २०२४ को अक्सनबाट काठमाडौले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई भित्र्याएको थियो।