भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आइपिएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए।
उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेलेका थिए।
हाल अमेरिकाको मेजर लिग क्रिकेट खेल्दै आएका छन्।
लुम्बिनीमा आबद्ध भएपाछि उनले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा मैदानमा उत्रिन आतुर छु। विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु। मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु।’
चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो। उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन्।
साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन्। टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ।
नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पौष ६ सम्म चल्नेछ जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन्।