नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा दर्ता रहेको आमिर अख्तरले दाबी गरेका छन्।
उनले आफ्नो नाममा कम्पनी दर्ता भएको बताउँदै त्यसको नामसारी गर्न भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गरेका छन्।
यद्यपि उनले सन् २०१४ मा धनगढीमा गराएको नेपाल प्रिमियर लिग (एनपिएल) विवादित बनेको थियो।
अख्तरले एनपिएल नाममा प्रतियोगिता गराएपछि क्यानभित्रै विरोध भएको थियो। एनपिएल लिग क्यान आफैले गर्नुपर्ने आवाज उठेपछि अख्तरले एभरेस्ट प्रिमियर लिगको नाममा अर्को लिग सञ्चालन गरेका थिए।
क्यान आफैले आगामी मंसिर १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको तयारी गरिरहँदा अख्तरले नाममा दाबी प्रस्तुत गरेका हुन्।
'एनपिएलको एकल सेयरधनी, नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्टारको कार्यालय कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम दर्ता नम्बर १२११९२/०७०/०७१ अनुसार एनपिएल मेरो एकल स्वामित्व भएको एनपिएल र सोसम्बन्धी सम्पूर्ण अधिकार मेरो हुनेछ भनी कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम उक्त प्रमाण पत्र प्राप्त गरेको कुरा त्यहाँ समक्ष पुन: अवगत गराउन चाहन्छु,' अख्तरले क्यानलाई लेखेको पत्रमा भनिएको छ।
उनले एनपिएल क्यानले गराउनु कानुनविपरीत भएको पनि दाबी गरेका छन्।
उनले आफू र क्यानबीच आपसी सहमति र सम्झौतामा एनपिएल गर्न पनि अनुरोध गरेका छन्। सात दिनभित्र आवश्यक प्रक्रिया पुर्याएर एनपिएल क्यानको नाममा नामसारी गर्ने भन्दै उनले अल्टिमेटम पनि दिएका थिए।
यद्यपि क्यानले अख्तरको दाबीलाई अस्वीकार गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपालभित्र क्रिकेट गतिविधि सञ्चालनको अधिकार क्यानलाई नै छ।
'नेपालमा हुने क्रिकेट गतिविधि सञ्चालनको अधिकार क्यानमा छ। कुन नाममा कस्तो खालको प्रतियोगिताको गर्ने अधिकार क्यानको हो,' लामाले भने, 'अर्को कुरा एनपिएल क्यानले आयोजना गर्ने भएकाले कम्पनीमा दर्ता गर्नु पर्दैन। क्यान नेपाल सरकार, खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नियमनकारी संस्था हो। एनपिएलका सबै गतिविधि क्यानअन्तर्गत हुने भएकाले कम्पनीमा दर्ता गर्नु पर्ने भन्ने कुरा नै छैन।'
उनले सन् २०१४ मा भएको एनपिएलको विवादित पृष्ठभूमिको कुरा उठाउँदै नजिकिदै गरेको एनपिएललाई पनि विवादित बनाउनु खोज्नु दु:खद भएको समेत बताए।
अर्कोतर्फ एनपिएलको ट्रेडमार्क क्यानको नाममा भएको लामाले दाबी गरेका छन्। 'एनपिएलको ट्रेडमार्क क्यानको नाममा छ, त्यसैले यो विषयमा विवाद झिकिराख्नु पर्ने कारण देख्दिनँ,' उनले सेतोपाटीसँग भने।