नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताका टोलीहरूले विदेशी प्रशिक्षक भित्र्याइरहेका छन्।
प्रिमियर लिगको टोली पोखरा एभेन्जर्सले भारतका राजीव कुमारलाई प्रशिक्षकको रुपमा भित्र्याएको छ।
यसअघि उनले भारतको आइपिएल टोली चेन्नई सुपरकिंग्समा ब्याटिङ र फिल्डिङ प्रशिक्षक बनेर काम गरेका थिए। उनले भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका थिए। सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए।
जनकपुर बोल्ट्सले भने नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेलाई प्रशिक्षक नियुक्त गरेको छ। पुबुदुको नेतृत्वमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो। यसअघि उनी क्यानडाको प्रशिक्षक थिए।
सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टर नियुक्त गरेको छ। अस्ट्रेलियाका लागि एक सय भन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका हगको आगमनले सुदूरपश्चिमले एनपिएलमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ। पूर्वस्पिनर हगले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका थिए। सुदूरपश्चिमको प्रशिक्षकको भूमिकामा जगत टमाटा हुनेछन्।
विराटनगर किंग्सले आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ओ'ब्राइनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। ओ'ब्राइनले आयरल्यान्डबाट १५३ एकदिवसीय र ११० टी-२० खेलेका छन्।
यसअघि अक्सनमार्फत् १०-१० नेपाली खेलाडी भित्र्याएका एनपिएल टोलीले अब चार चार विदेशी खेलाडी भित्र्याउन बाँकी छ। सुरुमा एक एक खेलाडी मार्कीको रुपमा टोलीमा आबद्ध भएका थिए।
एनपिएल आगामी १५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।