घरेलु टोली क्यानडाले नेपाल र ओमानविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ।
ओन्टारियोमा बिहीबार भएको अन्तिम खेलमा ओमानलाई ५ विकेटले पराजित गरेसँगै क्यानडा च्याम्पियन बनेको हो।
ओमानविरूद्धको पहिलो खेल गुमाए पनि क्यानडाले नेपालविरूद्धका दुवै खेल जितेको थियो। बिहीबार अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै उसले तीन खेलबाट ६ अंक जोड्यो। यससँगै उसले नेपाललाई पछि पार्यो।
चार अंक जोडेको नेपालले ओमानविरूद्धका दुवै खेल जित्दा क्यानडासँगका दुवै खेलमा पराजय भोग्यो। बिहीबार क्यानडा पराजित भएको भए नेपालले सिरिज जित्थ्यो।
यता ओमानले भने तीन खेलमा पराजित हुँदा एक खेलमा विजयी भयो।
क्यानडामा आइसिसी विश्वकप लिग-२ र टी-२० सिरिज खेलेसँगै नेपाल अब अमेरिका जानेछ। त्यहाँ नेपालले सुरुमा टी-२० सिरिज खेल्नेछ भने त्यसपछि अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा प्रतिस्पर्धा गर्नेछ।