इन्डियन प्रिमियर लिग (आइपिएल) टोलीले २०२५ सिजनमा ६ खेलाडी रिटेन गर्न सक्ने भएका छन्।
यस्तै राइट-टु-म्याच (आरटिएम) विकल्प मेगा लिलामीको लागि फेरि लागू गरिने भएको छ। यसैगरी इम्प्याक्ट खेलाडीको नियम २०२७ सम्म कायम रहने भएको छ। आइपिएलको गभर्निङ काउन्सिलले शनिबार घोषणा गरेको अर्को नयाँ नियममा आइपिएल टोलीको अक्सन पर्स २० करोड भारू बढेर १२० करोड भारू पुगेको छ।
प्रत्येक टोलीले रिटेन्सन र आरटिएम विकल्पको संयोजनमार्फत् अधिकतम छ जना खेलाडी राख्न सक्छ। जसमा अधिकतम पाँच क्याप्ड खेलाडीहरू (भारतीय र विदेशी) र अधिकतम दुई अनक्याप्ड [भारतीय] खेलाडी हुन सक्नेछन्।
यदि कुनै फ्रेन्चाइजले पाँच क्याप्ड खेलाडीलाई राख्न चाहन्छ भने पर्सबाट निम्न रकमहरू कटौती गरिनेछ। पहिलो तीन रिटेन्सनको लागि १८ करोड, १४ करोड र ११ करोड भारू मुल्य हुनेछन्। अर्को दुई रिटेन्सनका लागि १८ करोड र १४ करोड भारू कटौती हुनेछ।
अक्सनअघि पाँच क्याप्ड र एक अनक्याप्ड खेलाडीलाई फ्रान्चाइजीले १२० करोडको समग्र पर्सबाट ७९ करोड गुमाउनेछ र ४१ करोडमा लिलामीमा जानेछ।
यदि कुनै फ्रान्चाइजीले चार क्याप्ड र दुई अनक्याप्ड खेलाडी राख्या उसले आफ्नो पर्सबाट ६९ करोड गुमाउनेछ।
फ्रान्चाइजी टोलीहरूको आपत्ति र रोहित शर्मा जस्ता खेलाडीको चिन्ताको बावजुद इम्प्याक्ट प्लेयर नियम आगामी तीन सिजनसम्म राखिने भएको छ।
आरटिएम विकल्पले एक फ्रान्चाइजीलाई लिलामीको समयमा एक खेलाडीलाई अर्को फ्रान्चाइजीले अक्सन समाप्त भएपछि खेलाडीको लागि गरेको उच्चतम बोलीसँग मेल खाने मौका दिनेछ।
आइपिएल २०२४ सम्म फ्रेन्चाइजीहरूले सिजनको सातौं खेलअघि घाइते खेलाडीको विकल्प खोज्नुपर्ने थियो। आइपिएल २०२५ देखि लिग चरणको १२औं खेलसम्म टोलीले प्रतिस्थापन खोज्न सक्नेछन्।
अनक्याप्ड खेलाडीको बारेमा बृहत् छलफलको क्रममा २००८ मा सुरु भएको नियमलाई पुनर्जीवित गरिएको छ। सिजनभन्दा कम्तिमा पाँच वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका भारतीय खेलाडीलाई अनक्याप्डको सूचीमा राख्न सकिनेछ। यो नियमपछि भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि अनक्याप्ड सूचीमा हुनेछन्।