आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानविरूद्ध घरेलु मैदानमा खेलिएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा क्यानडाले चारै खेल जित्यो।
घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग-२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
सिरिजमा क्यानडाले नेपाल र ओमानविरूद्धका दुवै खेल जितेको थियो।
सिरिजमा नेपालले भने क्यानडासँगको दुवै खेलसहित ओमानसँग एक खेल गुमाएको थियो। ओमानविरुद्ध नेपालको अन्तिम खेल भने वर्षाले अवरूद्ध भएको थियो।
लिग-२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ। अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ।
यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ।
अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ। उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ।
यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थनमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ।
नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ।
अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ।