आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ।
क्यानडाको ओन्टेरियोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे। पहिलो एकदिवसीय अर्धशतक बनाउन एक रनले चुकेका सन्दीपले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
सोमपाल कामीले सन्दीपसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गर्दा नेपालले सम्मानजनक स्कोर खडा गरेको हो। सोमपालले ४८ बलमा २१ रन जोडे। यस्तै करण केसी २४ रनको योगदान गरे।
त्यसअघि नेपालले १२ ओभर भित्रै महत्वपूर्ण ५ विकेट गुमाउदा खराब सुरुवात गरेको थियो।
ओपनर आसिफ शेख पाँचौ ओभरमा कलीम सनाबाट बोल्ड भएका थिए। उनले १२ बलमा २ रन मात्र जोड्न सके।
अर्का ओपनर अर्जुन साउद २७ बल खेल्दा १ चौका प्रहार गरेर १० रनमा आउट भए। उनी आठौं ओभरको पाँचौ बलमा आउट हुनु पुगेका थिए।
अर्जुन आउट भएको अघिल्लो ओभरमा नेपालले भीम सार्कीलाई ४ रनमा दोस्रो विकेटको रुपमा गुमाएको थियो।
कप्तान रोहितकुमार पौडेल ११औं ओभरमा ४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगेका थिए। लगत्तै अर्को ओभरमा नेपालले अनिलकुमार साहलाई १ रनमा गुमायो। उनी ४ बल खेलेर आउट हुँदा नेपालले १२ ओभरमा ३६ रन जोड्दा ५ विकेट गुमायो।
त्यसपछि आरिफ शेख १० रनमा आउट भएका थिए। गुल्सन झाले ५६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा ३४ रन बनाए।
बलिङमा क्यानडाका कलीम सनाले ३ विकेट लिए भने डिलोन हेलिगर र हर्ष थाकेरले २-२ विकेट लिए।
आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल लगातार चार खेलमा पराजित भइसकेको छ। लिगका सुरूवाती ६ मध्ये पाँच खेलमा पराजित भएको नेपाल लिग-२ का आठ टोलीमध्ये सबैभन्दा कमजोर देखिएको छ।
गत फेब्रुअरीमा कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरूद्ध जित निकालेपछि नेपालले खेलेका चार खेलमा लगातार पराजय भोगेको हो।
नामिबिया र नेदरल्यान्ड्सविरूद्धको सो सिरिजका पछिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो।
अहिले नेपाल लिग-२ को दोस्रो सिरिज खेल्न क्यानडामा छ। क्यानडामा पनि नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोरिसकेको छ।
पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपालले अघिल्लो खेलमा ओमानसँग पराजय भोगेको थियो।
नेपालले लिग-२ मा ब्यहोरेका पाँच खेलमा नै खराब ब्याटिङ गरेको थियो।
अझ लगातार पराजित हुँदा नेपाली टोलीमा लयमा फर्कनु पर्ने चुनौती समेत थपिएको छ। त्यसैले आइतबार क्यानडाविरूद्धको खेलमा नेपाललाई जित निकाल्नु पर्ने अर्को दबाब पनि थपिएको छ।
टोलीमा नेपालका लागि सुरुवाती ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। बलिङमा ठिकठाक प्रदर्शन गरिरहेको नेपालको मुख्य समस्या डेथ ओभरमा राम्रो बलिङ गर्न नसक्नु पनि हो।