आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडासँगको खेलमा खराब सुरुवात गरेको छ।
क्यानडाको ओन्टेरियोमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १२ ओभर भित्रै महत्वपूर्ण ५ विकेट गुमाएको छ।
ओपनर आसिफ शेख पाँचौ ओभरमा कलीम सनाबाट बोल्ड भएका थिए। उनले १२ बलमा २ रन मात्र जोड्न सके।
अर्का ओपनर अर्जुन साउद २७ बल खेल्दा १ चौका प्रहार गरेर १० रनमा आउट भए। उनी आठौं ओभरको पाँचौ बलमा आउट हुनु पुगेका थिए।
अर्जुन आउट भएको अघिल्लो ओभरमा नेपालले भीम सार्कीलाई ४ रनमा दोस्रो विकेटको रुपमा गुमाएको थियो।
कप्तान रोहितकुमार पौडेल ११औं ओभरमा ४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगेका थिए। लगत्तै अर्को ओभरमा नेपालले अनिलकुमार साहलाई १ रनमा गुमायो। उनी ४ बल खेलेर आउट हुँदा नेपालले १२ ओभरमा ३६ रन जोड्दा ५ विकेट गुमायो।
आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल लगातार चार खेलमा पराजित भइसकेको छ। लिगका सुरूवाती ६ मध्ये पाँच खेलमा पराजित भएको नेपाल लिग-२ का आठ टोलीमध्ये सबैभन्दा कमजोर देखिएको छ।
गत फेब्रुअरीमा कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरूद्ध जित निकालेपछि नेपालले खेलेका चार खेलमा लगातार पराजय भोगेको हो।
नामिबिया र नेदरल्यान्ड्सविरूद्धको सो सिरिजका पछिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो।
अहिले नेपाल लिग-२ को दोस्रो सिरिज खेल्न क्यानडामा छ। क्यानडामा पनि नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोरिसकेको छ।
पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपालले अघिल्लो खेलमा ओमानसँग पराजय भोगेको थियो।
यस्तोमा नेपाल सिरिजको तेस्रो खेलमा क्यानडासँग आइतबार राति प्रतिस्पर्धा गर्दैछ। क्यानडाको अन्टेरियोस्थित किंग सिटीमा राति पौने ९ बजे सुरु हुने खेलमा नेपालको मुख्य चुनौती ब्याटिङ हुनेछ। नेपालले लिग-२ मा ब्यहोरेका पाँच खेलमा नै खराब ब्याटिङ गरेको थियो।
अझ लगातार पराजित हुँदा नेपाली टोलीमा लयमा फर्कनु पर्ने चुनौती समेत थपिएको छ। त्यसैले आइतबार क्यानडाविरूद्धको खेलमा नेपाललाई जित निकाल्नु पर्ने अर्को दबाब पनि थपिएको छ।
टोलीमा नेपालका लागि सुरुवाती ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। बलिङमा ठिकठाक प्रदर्शन गरिरहेको नेपालको मुख्य समस्या डेथ ओभरमा राम्रो बलिङ गर्न नसक्नु पनि हो।