घरेलु टोली भारतविरूद्धको पहिलो टेस्टमा बंगलादेश पहिलो इनिङ्ग्समा १४९ रनमै अलआउट भएको छ। दोस्रो दिनको खेल नसकिदै बंगलादेश अलआउट भएपछि भारतले पहिलो इनिङ्ग्समा २२७ रनको अग्रता लिएको छ।
बंगलादेशका लागि पहिलो इनिङ्ग्समा सकिब अल हसनले सर्वाधिक ३२ रन जोडे।
बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए। उनले ११ ओभरमा १ मेडन राख्दा ५० रन खर्चिए। मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिए।
त्यसअघि भारत पहिलो इनिङ्ग्समा ३७६ रनमा अलआउट भएको थियो। चेन्नईमा बिहीबार सुरु भएको भएको खेलको पहिलो दिन भारतका रविचन्द्रन आस्विनले शतक प्रहार गरेका थिए।
आस्विनले पहिलो दिनको खेल सकिदा १०२ रन बनाएर खेल्दा रवीन्द्र जडेजा ८६ रनमा नटआउट थिए। भारतले पहिलो दिन ६ विकेटको क्षतिमा ३३९ रन जोडेको थियो।
तर दोस्रो दिन उनीहरु चल्न सकेनन्। आस्विन ११३ रनमा आउट हुँदा जडेजाले दोस्रो दिन कुनै रन जोडेनन्। आकास दीप १७ रनमा आउट भए।
त्यसअघि भारतले खराब ब्याटिङ गरेको थियो।
भारतविरूद्ध बंगलादेशका तीव्र गतिका बलर हसन मोहमुद एक्लैले सुरुवाती चार विकेट लिए। उनले भारतीय कप्तान रोहित शर्मालाई ६ रन, शुभमन गिललाई शून्य र विराट कोलहीलाई पनि ६ रनमा आउट गरे। रोहितलाई हुसेन सान्तोबाट क्याच गराउँदा गिल र कोहली विकेटकिपर लिट्टन दासबाट क्याच भए। यी तीनै विकेट उनले सुरूवाती दश ओभरभित्रै लिएका थिए।
यस्तै उनले चौथो विकेटको रूपमा रिशव पन्तलाई ३९ रनमा आउट गरे। पन्तको क्याच पनि विकेटकिपर दासले लिएका थिए। यस्तै भारतका ओपनर यसश्वी जैशवाल ५६ रन र केएल राहुल १६ रन बनाएर आउट भएका थिए।
पहिलो इनिङ्ग्समा हसनले ४ विकेट लिँदा टेस्किन अहमदले ३ विकेट लिए।