आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ। मंगबलार विहान क्यानडाको किंग सिटीमा सकिएको खेलमा नेपालले क्यानडासँग १०३ रनको हार बेहोरेको हो।
एकदिवसीय खेलमा नेपालले क्यानडासँग हारेको यो पहिलो पटक हो। नेपालले यसअघिका तीन वटै खेलमा जित निकालेको थियो।
क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमै अलआउट भयो। खराब ब्याटिङ गरेको नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोडे। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछानेले २२ रन जोड्दा गुल्सन झाले १५ रन बनाए।
त्यसअघि ओपनर कुशल भुर्तेल १ रनमै आउट हुँदा नेपालले खराब सुरुवात गरेको थियो। १० बल खेलेका उनलाई क्यानडाका हेलिगरले एलबिडब्लूको धरापमा पारे।
अर्का ओपनर आसिफ शेखले २० रन बनाए भने भीम सार्की १८ रन, कप्तान रोहित पौडैल ५ रन, कुशल मल्ल १२ रन, दीपेन्द्रसिंह ऐरी ८ रन र सोमपाल कामी ६ रनमा आउट भए।
कुनै पनि बेला लयमा नरहेको नेपालले २५.१ ओभरमा ७ विकेट गुमाउँदा केवल ८० रन जोडेको थियो। त्यसपछि सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले नेपालको खातामा केही रन थपेका थिए।
बलिङमा क्यानडाका हेलिगरले ५ विकेट लिए। उनले १० ओभरनमा ३१ रन खर्चिए। अखिल कुमार र अंश पटेलले २-२ विकेट लिन सफल भए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा २५३ रन जोड्यो। सुस्त सुरूवात गरे पनि उसका लागि कप्तान निकोलास किर्टनले उत्कृष्ट ब्याटिङ गरे। किर्टनले नटआउट ७३ रन जोडे। उनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
क्यानडाले पछिल्लो १० ओभरमा १०४ रन जोडेको थियो। ४० ओभरसम्म ३ विकेटको क्षतिमा १४९ रन जोडेको क्यानडाका लागि कप्तान किर्टनले उत्कृष्ट ब्याटिङ गरेका थिए।
बलिङमा नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए। सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेलले १-१ विकेट लिए।
लिग-२ मा नेपालले पाँच खेल खेलिसक्दा अहिलेसम्म एक खेलमा मात्र जित निकालेको छ भने अंक तालिकमा पुछारबाट दोस्रो स्थानमा छ। यो सिरिजमा अब नेपालले दोस्रो खेलमा भोलि राति ओमानसँग खेल्नेछ।