विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो। यो संगै एपिएफले लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो।
कुल पाँच टोली सहभागी प्रतियोगिताको लिगमा पनि एपिएफले सुदूरपश्चिमलाई हराएको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५३ रन मात्र जोड्न सक्यो ।
खराब शुरुवात बाबजुद सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले शतकीय साझेदारी गर्दै जित आशा देखाएका थिए।
६.४ ओभरमा सुदूरपश्चिमले ५ विकेट गुमाएर ४९ रन बनाएको थियो।
तर, कविता र लक्ष्मीले छैटौं विकेटका लागि १०४ रनको साझेदारी गरे।
अन्तिम ओभरमा पाँच रन बनाउन असफल हुँदा सुदूरपश्चिमले हार ब्यहोरेको हो।
कविता ६७ रन र लक्ष्मी २९ रनमा नट आउट रहे।
आक्रामक ब्याटिङ गरेकी कविताले ४५ बलमा सात चौका र ३ छक्का प्रहार गरे। लक्ष्मीले ३५ बलमा दुई चौका हिर्काइन्।
त्यसअघि कप्तान विन्दु रावल १९, सम्झना खड्का १० र साबित्री धामीले १२ रन जोडे।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपिएफको बलिङमा करुणा भण्डारीले दुई र सुमन बिष्टले एक विकेट लिए।
करुणाबाहेक सबै बलर महँगा रहे पनि एपिएफले लक्ष्य पूरा गर्न दिएन। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १५५ रन जोडेको थियो।
एपिएफका ओपनरद्वय राजमति ऐरी र सीता रानामगरले अर्धशतक बनाउँदै राम्रो योगफलतर्फ अग्रसर गराए। राजमति ५० रन र कप्तान सीता ७४ रनमा आउट भए।
यी दुईबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी बन्यो।
राजमतीले ४६ बलमा सात चौका हिर्काइन् । ५५ बल खेलेकी सीताको इनिङमा सात चौका रह्यो । इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै सीताले राम्रो स्थितिमा पुर्याएकी हुन्।
ममता चौधरी १० रनमा नटआउट रहिन्।
यी तीनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, बिन्दु रावल र राधिका पुजराले समान एक विकेट लिए।
लिगमा अपराजित एपिएफ पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी कप्तान सीता रानामगर घोषित भइन्।
उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी सम्झना खड्का र उत्कृष्ट बलर ललितपुर मेयर्स–११ की कृतिका मरासिनी घोषित भए।
सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स, कोसी प्रदेश र बागमती क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहे।
यी तीनैले समान एक खेल जितेका थिए। (न्युज एजेन्सी नेपाल)