बैंलोरलाई हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ।
विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलबाट अंक बटुलेको हो। यसअघि खेलेका तीनै खेल गुमाएको मुम्बईले मंगलबार सहज जित हात पारेको हो।
२ सय १४ रनको बिशाल लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ सय ६७ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान विराट कोहलीले ९२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। ६२ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गर्दै नटआउट रहे।
क्विन्टन डी कपले १९, मन्दीप सिंले १६, क्रिस वाक्सले ११ रन बनाए। बाँकी कुनै पनि ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गर्न सकेनन्।
मुम्बईलाई जिताउन कुर्नाल पाण्डेले ३, जसप्रित बुम्राह, मिचेल म्याक्लिनघानले समान २ तथा मयंक मर्कान्डेले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मुम्बईले कप्तान रोहित शर्माको उच्च प्रदर्शनबाट २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायो।
टोलीका लागि रोहितले सर्वाधिक ९४ रन बनाए । ५२ बल खेल्दै रोहितले १० चौका र ५ छक्काको मद्दतमा ९४ रन बनाएका हुन्।
इभिन लुइसले ४२ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६५ रन जोडे। कुर्नाल पाण्डेयले १५ रन जोडे । ५ बल खेलेका हार्दिकले २ छक्का र १ चौकाको मद्दतमा अविजित १७ रन जोडे ।
बैंगलोरका लागि उमेश यादव र कारे एन्डरसनले समान २-२ र क्रिस वाक्सले १ विकेट लिएका थिए।
यो जितसँगै मुम्बई छैठौं स्थानमा उक्लिएको छ। पराजित बैंलोर पुछारबाट दोस्रोमा कायमै छ। चार खेलबाट समान खेलमा पराजित भएको दिल्ली पुछारमा पुगेको छ।
आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।