मुम्बईलाई हराउँदै सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै हैदरावाद लिगको शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता मुम्बई भने लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको हैदरावादले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो।
आइपिएलमा लगातार दोस्रो जित गर्ने क्रममा ऋद्दीमान शाह र शिखवर धवनले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै हैदारावादलाई दमदार सुरुआत दिलाए। ऋद्दीमानले २२ र शिखरले सर्वाधिक ४५ रनको योगदान गरे। दीपकले अविजित ३२ बिल्ली स्टानलाकेले अविजित ५ रन बनाउँदै विजयी रन प्रहार गरे। अन्तिम बलमा चौका प्रहार गर्दै हैदरावादले जित दर्ता गराएको थियो।
मुम्बईका मायंक मर्कान्डेले ४, मुस्ताफिजुर रहमाले ३, जसप्रित ब्रुम्ह्राले २ विकेट लिए पनि टिमलाई पहिलो जित दिलाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसका लागि ओपनर इभिन लुइसले २९, सूर्यकुमार यादव र केरोन पोलार्डले समान २८, कुर्नाल पाण्डेयाले १५ र कप्तान रोहित शर्माले ११ रन बनाए।
हैदरावादका सन्दीप शर्मा, बिली र सिद्धार्थ काउले समान २ विकेट लिए भने रासिद खान र सकिब अल हसनले समान १ विकेट लिए।
हैदरावादका रासिद खेलका म्यान अफ दी म्याच भए। उनले ४ ओभर स्पेलमा मात्र १३ रन खर्चिएर १ विकेट लिएका थिए।
आइपिएलमा शुक्रबार रोयल च्यालेन्सर्ज बैंगलोर र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।