सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरेपछि टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले हराउँदै डीपीएलमा पहिलो जित दर्ता गरेको छ।
धनगढीस्थित एसएसपी क्रिकेट मैदान सोमबार भएको पहिलो खेलमा अत्तरियाले दिएको १५१ रनको लक्ष्य ४ बल बाँकी छँदै धनगढीले ७ विकेट गुमाएर पुरा गर्यो। चौराहको जितमा विदेशी खेलाडी रोहन मुस्ताफाले सर्वाधिक ४० रनको योगदान गरे। यस्तै सोमपालले १५ बल खेल्दै बिस्फोटक ब्याटिङ गरी नटआउट ३८ रन बनाए।
बलिङतर्फ दीपेन्द्र सिंह ऐरी र सुभांकर उर्रोले २-२ तथा विपिन चन्द्रा र विनोद लामाले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो। अत्तरियाका लागि विपिन चन्द्रा र प्रेम तामाङले २८ रन बनाए भने कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे।
बलिङमा चौराहका ललितसिंह भण्डारीले ४ सर्बाधिक ३ विकेट लिए। यस्तै रोहन मुस्ताफाले २ तथा कप्तान सोमपाल कामीले र सामसद शेखले १-१ विकेट लिएका थिए।
साविक विजेता चौराह पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो। उता पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई पराजित गरेको अत्तरियाको यो पहिलो हार हो।