आगामी वर्ष इङ्ल्याण्डमा हुने एक दिवसीय विश्वकपका लागि भएको छनोटको अन्तिम खेलमा बिहिबार युएईसँग पराजित भएपछि घरेलु टोली जिम्माम्बेको सम्भावना ‘लगभग’ सकिएको छ।
विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा युएईले सुपर सिक्सको पहिलो जित दर्ता गर्ने क्रममा जिम्बाम्बेलाई डक वर्थ लुईस नियमका आधारमा ३ रनले हरायो।
योसँगै जिम्बाम्बेको विश्वकप प्रवेश योजना विफल भएको छ। यदि आज घरेलु टोलीले युएईलाई हराउन सकेको भए वेष्टइन्डिजसँगै जिम्बाम्बे पनि विश्कपका लागि छानिने थियो।
यसअघि बुधबार स्कटल्याण्डलाई डक वर्थ लुईस नियमका आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिज विश्वकपमा छानिएको छ।
अब जिम्बाबेका लागि भोलि आयरल्याण्ड र अफगानिस्तानबीचको खेल बराबरी भएमा मात्र रनरेटबाट विश्वकप पुग्ने झिनो आशा बाँकी रहेको छ। यदि शुक्रबार कुनै एक टिमले स्ष्ट जित निकाले विजयी हुने टोलीले विश्वकप खेल्ने टिकट प्राप्त गर्नेछ।
पहिले ब्याटिङ गर्दै युएईले दिएको २३० रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ४० ओभरमा २२६ रन मात्र बनाउन सक्यो।
युएईले ४७.५ ओभरमा ७ विकेट गुमाएर २३५ रन बनाएपछि मैदानमा पानी परेको थियो। त्यसपछि ४० घरेलु टोलीले ४० ओभरमा नयाँ लक्ष्य पाएको थियो।
जिम्बाम्बेलाई रोक्ने क्रममा युएईका मोहम्बद नाबिदले ८ ओभर बलिङ गर्दै ४० रन खर्चिएर ३ विकेट लिए। रोहन मुस्ताफाले २ तथा अहमद राजा र कादेर अहमदले समान १-१ विकेट लिए।
जिम्बाम्बेका लागि एससी विलियम्सले ८० रन बनाएपनि घरेलु टोलीको हार टार्न सकेनन्।
यसअघि युएईका लागि रामेज साहजादले ५९ तथा गुलाम सबिरले ४० रन बनाएका थिए।