नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवशीय मान्यताको उपलब्धि ऐतिहासिक भएको बताउँदै यो नेपाली क्रिकेट विकासका लागि कोशेढुंगा साबित हुने बताएका छन्।
सोमबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरेको बताएका छन् । पारसले पुर्वाधार र सुविधाको अभावबीच पनि खेलाडीहरुले देशका लागि सक्दो मेहनत गरेर खेलेको बताएका हुन्।
‘हामीले पूर्वाधार र सुविधाको कमी हुँदा हुँदै पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो उपलब्धि वान डे इन्टरनेशनल मान्यता पाउन सकेका छौँ’, पारसले भने, ‘अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्छ ।’
वान डे इन्टरनेशनल मान्यता पाएपछि फन्डिङदेखि सबैका कुरामा नेपाललाई फाइदा हुने बताउँदै पारसले धेरै वर्षदेखिको सपना पुरा हुँदा आफ्नो टिमका सदस्यदेखि क्रिकेट प्रेमी पनि हर्षित भएको उल्लेख गरे ।
‘धेरै वर्षदेखिको सपना पुरा भएको छ । नेपाली क्रिकेट टोलीका लागि खुसीको क्षण हो’, पारसले भने, ‘अझै राम्रो प्रदर्शन गरेर हामी टेस्ट मान्यता पनि लिन चाहन्छौँ, त्यसका लागि राज्यले क्रिकेटलाई विशेष लगानी गर्नुपर्छ ।’
‘इतिहासकै सबैभन्दा ठूलो उपलब्धि पाएका छौं, नेपाली क्रिकेटलाई अर्को युगमा लग्नका लागि, यसले एउटा आधार खडा गरेको छ ।’ कप्तान पारसले भने ।
कप्तान पारसले क्रिकेटले हासिल गरेको यो उपलब्धि सबैका लागि खुसीको बाहाना भएको बताउँदै क्रिकेटको माध्यमबाट सबै देशवासीलाई खुसी तुल्याउन पाउँदा गर्व महशुस भएको बताए ।
क्रिकेट विवादसम्बन्धी सोधिएको प्रश्नमा कप्तान पारसले आफूहरुले आफ्नो जिम्मेबारी पूरा गरेको र सुधार गर्नुपर्ने कामका लागि अवसर सृजना गरिदिएको धारणा राखे । ‘हामीले आफ्नो जिम्मेबारी पूरा गरेका छौं, यसले अरु कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर दिएको छ, विवाद समाधान, भोतिक संरचनाको बिकासदेखि राम्रो संरचनाको क्रिकेट बिकास नगरी हामीले एकदिवशीय मान्यता पाएको अर्थ हुँदैन ।’ कप्तान पारसले भने ।
उनले मैदान बाहिरको नराम्रो पक्ष सबै मिलेर सुधार गर्नुपर्ने भन्दै ब्यक्ति गन्दा क्रिकेटलाई केन्द्रमा राखेर काम गरिए सबै विवादहरुको समाधान सहज रहेको प्रतिक्रिया दिए ।
क्रिकेट इतिहासमा पहिलो पटक एकदिवशीय मान्यता दिलाएको नेपाली टोलीको अबको टार्गेट विश्वकप हुँदै आगामी १०–१२ वर्षमा टेष्ट मान्यता पाउने हुनुपर्ने कप्तान पारसले बताए ।
उनले भने, ‘यो विश्वकपमा छनोट हुन सकेनौं, हाम्रो टार्गेट अर्को विश्वकप खेल्ने हो र आगामी १०/१२ वर्षभित्रमा टेष्ट मान्यता पाउने गरी योजना बनाउनुपर्छ ।’
हेर्नुहोस् भिडियोमाhttps://www.youtube.com/watch?v=OuXXcHGsc7E&feature=youtu.be
भिडियोः नारायण महर्जन