जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपाली ब्याटिङको ओपनिङ सम्हाल्न आएका अनिलकुमार साह ७ रन बनाएर आउट भएका छन्।
उनी तेस्रो ओभरको अन्तिम बलमा मुजिब रहमानको बलमा एलबिडब्लुको धरापमा परे। १३ बल खेलेका उनले १ चौकासहित ७ रन बनाएका हुन्। अहिले क्रिजमा पारस खड्का आएका छन्।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।
प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन। सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।