जिम्बाम्बेमा जारी आइसिसि विश्वकप वान डे छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।
पहिले ब्याटिङ गर्दै नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
स्कटल्याण्डका लागि कप्तान कोत्जेरले सर्वाधिक नटआउट ८८ रन बनाए।
नेपालका लागि सन्दिप लामिछाने र बसन्त रेग्मीले २-२ तथा ललित राजबंशी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए पनि हार टार्न सकेनन्।
नेपालका लागि आज बलिङमा कप्ता पारस खड्का भारी बने। ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए।
बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४७.४ ओभरमा सबै विकेट गुमाउदै १४९ रन बनाएको थियो।
नेपालका लागि कप्तान पारस खड्काले ६३ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
पारस ६३ रन बनाएर क्याच आउट भएका थिए। उनले ७५ बलमा ९ चौका प्रहार गरेका थिए।
खराब सुरुवात गरेको नेपालको इनिङलाई पारसले गति दिएका थिए।
खेलमा पारसले ‘लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गरेका थिए। उनी ‘लिस्ट ए’ को खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। स्कटल्यान्ड विरुद्धको खेलअघि एक हजार रन पूरा गर्न ९ रनले टाढा रहेका पारसले पाँचौ ओभरमा चौका प्रहार गरेर एक हजार रन पूरा गरेका थिए। पारसले ‘लिस्ट ए’ का ३० खेल खेलेका छन्। जसमा उनले २ शतक र ७ अर्धशतक प्रहार गरेका छन्।
त्यसपछि आठौं क्रममा ब्याटिङमा आएका बलर बसन्त रेग्मीले ५१ बल खेलेर १ चौकासहित २४ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँच ओभरभित्र सुरुवाती ४ विकेट गुमाउँदा सुरुवातमै दबाबमा परेको थियो।
ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनमै आउट भए। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भए। नाथलाई विटिङ्घमले एलबिडब्लुको धरापमा पारेका हुन्। यस्तै, दीपेन्द्रसिह ऐरी पनि १ रनमै पेभिलियन फर्के। लगत्तै शरद भेषावकरलाई पनि विटिङ्घमले बोल्ड गरे।
यसैगरी, आठौं ओभरको अन्तिम बलमा आरिफ शेख पनि पभेलियन फर्कए। २ रन मात्र जोडेका आरिफ वेरिङ्टनको बलमा क्याच आउट भए। आरिफ आउट हुँदा नेपालको स्कोर ३९ रन मात्र थियो।
सोमपाल कामी १८ रनमा रनआउट भए। आउट हुनुअघि पारससँग ४२ रनको साझेदारी गरेका उनले ५४ बल खेलेर २ चौका प्रहार गरे।
यस्तै रोहित कुमार पौडेल १५ रन बनाएर आउट भए। नवौ नम्बरमा आएका बलर सन्दिप लामिछानेले ६ रन बनाए।
बलिङतर्फ स्कटल्यान्डका विटिङ्घमले ३ विकेट लिएका छन्। यस्तै टोम सोले र साफ्यान सरिफले २-२ विकेट लिए भने रिचे बेरिङ्टनले १ विकेट लिएका थिए।
यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो। आजको जितसँगै स्कटल्याण्ड सुपर सिक्स नजिक पुगेको छ। नेपाललाई अब बाँकी रहेका दुबै खेल फराकिलो रन अन्तरमा जित्न सके अझै पनि सुपर सिक्सको सम्भावना बाँकी रहन्छ।
समूहमा आज अफगानिस्तान र हङकङ भिडिरहेका छन्।