आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बाबे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले विदाई गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच सम्मान र शुभकामनासहित विदाई गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले यस सम्मानले खेलाडीहरुलाई अझै राम्रो खेल्न प्रेरणा मिलेको र युवा खेलाडीका लागि उत्साह थपेको धारणा राखे। उनले अबको पाँच वर्ष यही सरकारले निरन्तरता पाउने भन्दै क्षमताले भ्याएसम्म समग्र खेलको विकासका लागि सरकारले प्रयास गर्ने बताए।
कार्यक्रममा कप्तान पारस खड्काले समग्र खेलकुद विकासका लागि सरकारी पहलको अपेक्षा गरेको बताए। उनले अबको पाँच वर्षसम्म कायम रहने सरकारले कम्तिमा एउटा फुटबल र एउटा क्रिकेट रंगशाला बनाउन माग गरे।
प्रशिक्षक जगत टमाटाले प्रतियोगिताको यात्रा कठीन भए पनि नेपाली टिम पनि कमजोर नरहेको बताए। नेपाली टिम पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्यस्त रहेका कारण फिट भएको प्रशिक्षक टमाटाले बताए।
यसैबीच नामिवियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले पूर्वघोषित नगद पुरस्कार वितरण गरेको छ।
नेपाली टोली नामिवियाबाट फर्किएपछि गत मंगलबार टिमलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका प्रत्येक सदस्य, प्रशिक्षक र फिजियोलाई जनही तीन लाख दिने घोषणा गरेका थिए। सरकारले घोषणा गरेको जनही तीन लाख रुपैयाँ विश्वकप छनोट खेल्न जानुअघि शुक्रबार गरिएको बिदाई कार्यक्रममा टोलीका १४ सदस्य, प्रशिक्षक र फिजियोलाई प्रदान गरिएको हो।
साथै मदन भण्डारी स्पोर्टस फाउण्डेसनले पनि सबै सदस्यलाई १–१ लाख नगद पुरस्कार प्रदान गरेको छ।
आगामी मार्च ४ देखि २५ सम्म चल्ने विश्वकप छनोटमा नेपाल समूह बि मा रहेको छ। डिभिजन टु को उपविजेता बनेको नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।
नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्ने छ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।
प्रतियोगिताअघि नेपालले दुई अभ्यास खेल खेल्नेछ। नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ।
विश्वकप छनोटमा नेपालको खेलफागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लबफागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लबफागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लबफागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन्। दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्।
शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत: छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत: छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।
यस्तै छनोटमा शीर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछन्।
यी हुन् नेपाली नेपाली टोली :
- पारस खड्का (कप्तान)
- ज्ञानेन्द्र मल्ल
- शक्ति गौचन
- बसन्त रेग्मी
- शरद भेषावकर
- सोमपाल कामी
- करण केसी
- आरिफ शेख
- सन्दीप लामिछाने
- दीपेन्द्रसिंह ऐरी
- दिलीप नाथ
- ललित भण्डारी
- अनिलकुमार साह
- रोहितकुमार पौडेल
- ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी
- सुनिल धमला
- किशोर महतो
- सिधान्त लोहनी
- बिनोद भण्डारी
तस्बिरहरू- नारायण महर्जन/सेतोपाटी