आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले युएईमाथि ४ विकेटको सानदार जित दर्ता गरेको छ।
नामिबियामा आइतबार वर्षाले प्रभावित खेलमा युएईलाई ४ विकेटले हराउँदै नेपालको शीर्ष २ मा रहने सम्भावना बलियो बनाएको छ।
वर्षाका कारण तीन घण्टा ढिलो सुरू भएको खेल ३४ ओभरमा छोट्याइएको थियो।
नेपालले टस जितेर युएईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। युएईले निर्धारित ३४ ओभरको खेलमा ३१ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रनमा अलआउट भयो।
युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ तथा सन्दिप लामिछानेले ३ विकेट लिए। कप्तान पारस खड्काले २ विकेट हात पारे।
युएईको एक रन हुँदा पहिलो ओभरमा सोमपालले नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि युएईले २५ रन हुँदा दोस्रो विकेट गुमायो।
युएईका घुलाम साबेर १६ रनमा आउट भए। भने सइमन अनवर ३० रनमा आउट भए ।
लगातार दुई बलमा सन्दिपले दुई विकेट लिएपछि युएईले ५४ रनमा पाँच विकेट खेर फाल्यो।
युएईको स्कोर ७१ रन हुँदा नेपालले छैठौं सफलता हात पार्यो। यसपटक पनि सन्दिपले नै विकेट लिए। त्यसपछि कप्तान पारस खड्काले दुई विकेट लिएपछि युएईले ९५ रनमा आठ विकेट गुमायो।
उसका अद्नान मुफ्तीले १८ तथा मोहम्मद बोटाले १५ रन बनाए। लगत्तै युएईको १ सय ९ रन हुँदा सोमपालले नवौ विकेट लिए।
जवाफमा नेपालले २८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। नेपालको ब्याटिङ आज पनि सुरुवात खराव रह्यो। नौ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले २० रन पुर्याउँदा तीन विकेट खेर फाल्यो।
ओपनर ज्ञानेन्द्र मल्ल पाँच रनमा आउट हुँदा दिलिप नाथले २ तथा दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए। त्यसपछि क्रिजमा आएका शरद भेषवाकर पनि मात्र ३ रनमा आउट भएपछि नेपालले ४६रनमा चार विकेट गुमायो।
नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक प्रहार गरेका छन्। एकपछि अर्को विकेट गमुाएको नेपालका लागि कप्तान पारसले कप्तानी इनिङस् खेल्दै ५१ रन बनाए।
आरिफ शेखले १६ तथा रोहित पौडेलले १२ र सोमपाल कामीले १० रनको योगदान गरे। कप्तान पारस खड्का म्यान अफ द म्याच बने ।
नेपालले भोलि आफ्नो चौथो खेल केन्यासँग खेल्नेछ।
आजको खेलसँगै नेपाल ६ राष्ट्र सम्मिलित टोलीको दोस्रो स्थानमा उक्लिएको छ। सबै खेल जितेको क्यानाडा ६ अंकसहित शीर्ष स्थानमा छ। यस्तै नेपालसँग पराजित भए पनि अंकका आधारमा युएई तेस्रो तथा आयोजक नामिबिया चौथो र ओमान पाँचौ स्थानमा छन्। दुई खेल खेलेको केन्याले दुबैमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ।