आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को आफ्नो तेस्रो खेलमा नेपालले युएईसँग सामना गर्दैछ।
नामिबियाको ट्रस्ट युनाइटेड मैदान दिउँसो सवा १ बजेदेखि सुरू हुने खेलमा दुबैले जितको खोजी गर्नेछन्।
यसअघि पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए।
नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो।
यूएईले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर, दोस्रो खेलमा क्यानडासँग २३ रनले पराजित भएको थियो।
दुवै खेलमा खराब ब्याटिङ गरेको नेपालले आज ब्याटिङलाई सुधार्नुपर्ने देखिन्छ।
डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ।
तेस्रो खेलमा पराजित हुने टोलीको फाइनल पुग्ने सम्भावना निकै न्युन हुनेछ । त्यसैले यो खेल नेपाल र यूएईका लागि गर् या मर्को स्थितिमा छ । २०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । पुछारमा रहने दुई टोली रेलिगेसन पर्ने छन् ।
डिभिजन–२ अन्तर्गत आजै नामिबिया र ओमान तथा केन्या र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ। क्यानाडा यसअघिका दुबै खेल जित्दै शीर्ष स्थानमा छ।