खेलाडीले आफ्नो सफलताको श्रेय प्रशिक्षक, व्यवस्थापक र परिवारलाई दिने गर्छन्। त्यसैले खेलाडीहरू सफलताको खुसी साट्न आफूले जितेको मेडल उनीहरूलाई लगाइदिन्छन्।
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा भने फरक दृष्य देखियो।
प्रशिक्षकले खेलाडीका गलाबाट झिकेर आफैँ मेडल लगाए, अनि आफ्नो गलामा दर्जन बढी मेडल लगाएर खेलाडीसँग तस्बिर खिँचे। तस्बिर खिँचिरहदा पदक जितेका खेलाडीका गला भने रित्तै थिए।
बुधबार जिम्नास्टिक समापन देखिएको दृष्य हो यो। त्रिभुवन आर्मी क्लबका जिम्नास्टिक प्रशिक्षक देवकुमार महर्जनले पदक वितरण लगत्तै खेलाडीका गलाबाट मेडल झिकिरहेका थिए।
जिम्नास्टिकमा सात स्वर्ण र एक रजत जितेका राजु राईलाई पत्रकारहरूले प्रतिक्रियाका लागि अनुरोध गरिरहदा प्रशिक्षक महर्जनले नजिक आएर राजुको गलाबाट मेडल झिकेका थिए। त्यसअघि उनले अरू मेडल बटुलेर लगाइसकेका थिए।
मेडल खेलाडीको गलाबाट झिकेर आफै विषयमा जिज्ञासा राख्दा महर्जनले गर्वका साथ भने, ‘प्रशिक्षक हुँ, प्रशिक्षक।’
उनी खेलाडीले मेडल जितेको निकै खुसी देखिन्थे। प्रशिक्षकले मेडल गलाबाट झकेर लगेको विषयमा कुरा गर्दा एक रजत पदक विजेता खेलाडीको भने, ‘मलाई पनि यस्तो क्रियाकलाप देखेर अचम्म लगिरहेको छ।’