नवौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते भएपछि जारी सशस्त्र प्रहरी क्लव र लुम्बिनी प्रदेशबिचको क्वार्टरफाइनल खेल स्थगित भएको छ।
क्वार्टरफाइनलको तेश्रो खेल विभागीय क्लव एपिएफ र लुम्बिनीबिच चल्दै थियो। खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिमका खेलाडी रुपिन्द्र गैरे घाइते हुन पुगे।
उनको खुट्टाको एंकल गएपछि उनलाई थप उपचारको लागि अस्पताल पठाइएको छ।
त्यसलगत्तै लुम्बिनीले नम्बर ५–५ को स्थितीमा पुर्यायो। बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए। उनको पनि एंकलमा नै चोट लागेको छ।
त्यसलगत्तै पुनः एपिएफका टेकराज अवस्थी घाइते हुन पुगे।
लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल स्थगित भएको छ।
दर्शकहरु र खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइने भएको छ।
राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ। पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठकले “म्याट पुरानो भयो, फेर्नुहोस भनेर उहिलेदेखि भनेका हौँ। तर, उहाँहरुले सुन्नुभएन।”
उनका अनुसार भलिबलका लागि भनेर ल्याइएको म्याट सेपाकताक्रो खेलको लागि नवलपुर पुगेको छ।
नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको थियो।
अगाडि पनि भलिबलका तीन खेलाडी घाइते भइसकेका थिए। उद्धाटनको दिन गण्डकी र बागमतीबिचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको छ। त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपिएफकै हेमन्त मल्ल घाइते भएका थिए। मल्ल अहिले ठिक भइसकेका छन।
भलिबल लुम्बिनी प्रदेशका क्याप्टेन लोकेन्द्र भण्डारीले भने, “हामीले पहिलो दिनदेखि नै भन्दै आएका हौँ, म्याट भएन भनेर। यसको काम नै छैन। राखेपले यस्तो लापरवाही गर्न हुँदैनथ्यो। न म्याट छ, न खेलाडीको इन्स्योरेन्स छ।”
खेलाडी घाइते भएपछि आफूहरुले नै म्याटको सट्टा खाली ग्राउण्डमा खेल्न भनेको उनले बताए।
“हामीले त बरु म्याट नै निकालेर खेलौँ भनेका छौँ, राष्ट्रिय खेलकुद भन्यो हालत यस्तो छ। उपचार पनि अब आफै गर्नुपर्छ।”
अर्का घाइते खेलाडी रुपिन्द्रले राष्ट्रिय खेलकुद भनेतापनि घाइते भएपछि उपचार आफैले व्योहोर्नुपर्ने बताए।
“यहाँ आइसले सेकेको छ, एंकलको चोट त अर्थोपेडिकलाई नै देखाउनुपर्छ।” उनले भने, “खर्च पनि हामीले नै व्योहोर्नुपर्छ।”
भलिबल संघका महासचिव रोशन श्रेष्ठले चाहिँ म्याट फेरेर खाली ग्राउण्डमा बाँकी खेल खेलाइने बताए।
खाली ग्राउण्डमा गेम खेलाइने भएपछि लाइनका लागि चुना र रिबन ल्याउने र बाँकी खेल खेलाउने तयारी गरिएको छ।
भलिबलका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा भलिबल संघ गण्डकीका महासचिव टहलसिंह थापाले खाली ग्राउण्डमा नै बाँकी प्रतियोगिता हुने बताए।