अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको जनाएको छ।
बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा अख्तियारले तत्कालीन मन्त्री लेखकमाथि 'अनुसन्धान भइरहेको' उल्लेख गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसहित सात जना र दुईवटा कम्पनीविरूद्ध मुद्दा दायर गरिएको छ।
यसरी दायर गरिएको मुद्दामा उच्च राजनीतिक तहका व्यक्तिहरू समावेश गरिएका छैनन्। तर अख्तियारले उनीहरूमाथि अनुसन्धान जारी रहेको अभियोगपत्रमा उल्लेख गरेको छ।
पूर्वगृहमन्त्री लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख, गृहमन्त्रीको सचिवालय सदस्यहरूमाथि पनि अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ।
'प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सिडिआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वfभाविक सम्पर्क खुल्न आएको,' अख्तियारले अभियोगपत्रमा भनेको छ।
भट्टराईले गृह मन्त्रालयका मन्त्रीदेखि सम्बन्धित व्यक्तिहरूसँग गैरकानुनी रकम लेनदेन गरेको हुनसक्ने आशंका पनि अभियोगपत्रमा उल्लेख गरेको छ।
उनीहरू क-कसको के-कस्तो संलग्नता थियो भन्नेबारे अनुसन्धान जारी नै रहेको अख्तियारले भनेको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार भिजिट भिसा प्रकरणअन्तर्गत विशेष अदालतमा दुईवटा मुद्दा दर्ता भएका छन्। घुस रिसवत र सम्पत्ति शुद्धीकरणका दुईवटा छुट्टाछुट्टै मुद्दा पेस भएको उनले जानकारी दिए।
उनका अनुसार घुस रिसवतमा भट्टराईसहित सात जना र दुईवटा कम्पनीविरूद्ध मुद्दा पेस भएको छ भने सम्पत्ति शुद्धीकरणमा तीन जनाविरूद्ध मुद्दा पेस भएको छ।
शुद्धीकरणतर्फ सहसचिव भट्टराई, कविता पौडेल र खेमराज सुवेदीविरूद्ध मुद्दा छ। यसमा तीन जनामाथि १ करोड ३ लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ।
त्यस्तै, घुस रिसवतको मुद्दामा भट्टराईसँगै अर्का अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का, राम खड्का, फ्यामिली होलिडेज एन्ड टुर्सका दीपक भण्डारी, नयाँबानेश्वरको सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (सिआइएसटी) की ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमराज सुवेदीविरूद्ध मुद्दा दर्ता हुने प्रक्रियामा छ।
कम्पनीतर्फ ग्रिनलाइन होलिडेज र फ्यामिली होलिडेज एन्ड टुर्सलाई प्रतिवादी बनाइएको छ। उनीहरूविरूद्ध छुट्टाछुट्टै बिगो कायम गरिएको छ।
भट्टराईका हकमा ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ। यज्ञराज अर्यालका हकमा ८ लाख रुपैयाँ, बालकृष्ण खड्काको ३० लाख २० हजार, दीपक भण्डारीको १० लाख ६० हजार, राम खड्काको ३० लाख २० हजार, कविता पौडेलको ७९ लाख ८० हजार र खेम सुवेदीका हकमा ७९ लाख ८० रूपैयाँ बिगो कायम भएको छ।
प्रवक्ता लामिछानेका अनुसार उनीहरूले भिजिट भिसामा २५७ जनालाई विदेश पठाउने भनेर सेटिङमा घुस रिसवत लिएको अभियोगपत्रमा उल्लेख छ।
'२५७ जनालाई विदेश पठाएबापत बदनियतपूर्वक घुस रिसवत लिएर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको अभियोगपत्रमा छ,' उनले भने।
तीर्थराज भट्टराई विमानस्थलको अध्यागमन कार्यालयमा २०८१ असोज २६ देखि २०८२ जेठ ७ गतेसम्म कार्यरत थिए।
उक्त अवधिमा १ लाख ५३ हजार ९७४ जना भिजिट भिसामा विदेश गएको विवरण देखिएको छ। यसरी गएका कतिपय व्यक्ति नफर्किएको र किन नफर्किएको भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।