टेबल टेनिस खेलाडी १९ वर्षीया रोशनी अधिकारी यतिखेर खेल अभ्यासमा व्यस्त छिन्।
यही असोज अन्तिममा पोखरामा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशलाई उपाधि दिलाउने लक्ष्यका साथ उनी तयारी गर्दै छिन्। दाङको तुलसीपुरमा यही असोज ६ र ७ गते दुई दिन भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा रोशनीले ‘अन्डर नाइन्टिन’ को उपाधि जितिन्।
यसअघि यही वर्ष तुलसीपुरमै भएको ‘स्वर्गीय खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबल टेनिस प्रतियोगिता’ मा नेपाल आर्मीसँग पराजित भएर दोस्रो स्थान प्राप्त गरेकी थिइन्।
राष्ट्रिय च्याम्पिनसिपमा रोशनीले जितेको पहिलो पदक त्यही थियो। यसपछि टेबल टेनिसको राष्ट्रिय खेलाडीका रूपमा उनको परिचय बनेको छ।
तुलसीपुरस्थित राप्ती विद्या मन्दिर विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा सातौं राष्ट्रिय प्रतियोगितामा रोशनीले दाङ जिल्लाको र साविक मध्यपश्चिमको प्रथम उपाधि हासिल गरेकी थिइन्।
रोशनीकी आमा भगवती अधिकारी खेल प्रशिक्षक हुन्। उनी प्रशिक्षणका लागि विभिन्न जिल्ला गइरहन्थिन्। भाइ रोशनलाई खाना बनाएर खुवाउने, उनको हेरचाह गर्ने जिम्मेवारी रोशनीकै थियो। दिदीभाइ दुवै स्कुल जान्थे।
स्कुलमा पढ्दा नै रोशनी खेल अघि बढाउन चाहन्थिन्। केही प्रतियोगितामा भाग लिइन् तर सोचेजस्तो भएन।
रोशनी हाल काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा विज्ञानमा स्नातक तह (बिएस्सी) प्रथम वर्षमा पढ्दैछिन्। पढाइमा अब्बल छिन्, छात्रवृत्ति पाएकी छन्।
पढाइसँगै टेबल टेनिस खेल पनि अघि बढाएकी छन्। लैनचौरमा अभ्यास गर्छिन्। उनका प्रशिक्षक हुन् टेबल टेनिसका चिफ कोच सञ्जीव ढुंगेल।
‘मैले त खेल लगभग छोडिसकेकी थिए। उहाँ (सञ्जीव) ले नै सम्झाएर फर्काउनु भएको हो,’ रोशनीले भनिन्, ‘अहिले म उहाँबाटै निरन्तर प्रशिक्षण लिँदै छु। राम्रो भएको छ भन्नुभएको छ।’
भाइ रोशन पनि १२ कक्षा उत्तीर्ण गरेपछि काठमाडौंमा दिदीसँगै बसेर टेबल टेनिसमा अभ्यासरत छन्। खेलकै कारण पढाइ पनि काठमाडौंमै गर्ने विचारमा छन्।
‘काठमाडौंमा खेलको जति मौका छ, त्यति दाङमा छैन,’ रोशन भन्छन्, ‘म खेलकै लागि काठमाडौंमै पढ्ने मनस्थितिमा छु।’
उनी यसै पटक प्रदेशस्तरीय खेलमा प्रतिस्पर्धा गर्न चाहन्थे तर कोचले अर्कै सुझाव दिए।
उनले भने, ‘यसपटक नखेल, राष्ट्रिय अम्पाएर भएर काम गर भन्नुभयो। म अहिले राष्ट्रिय अम्पाएरका रूपमा खेल खेलाउने गर्छु।’
रोशन खेलाडी बनेर देशको तर्फबाट खेल्न चाहन्छन्। पढाइ र खेल दुवैतिर राम्रो गर्ने आफ्नो अठोट रहेको उनले बताए।
‘मैले स्कुलदेखि नै टेबल टेनिस खेलेको हुँ। माया र सम्मान यसबाटै पाएको छु। खेल्न छाड्दिनँ,’ उनले भने, ‘हामी दिदीभाइले पढाइमा पनि राम्रो गर्दै आएका छौं। छात्रवृत्तिमै पढेका छौँ।’
यी दिदीभाइ आमा भगवतीकै प्रेरणाले सानै उमेरमा खेलमा लागेका हुन्।
उनीहरू सानै थिए। आमाले राप्ती बबई क्याम्पसमा आयोजित एक प्रतियोगितामा खेलिन्।
‘हामी सानै थियौं तर मम्मी (आमा) को पक्षमा हुटिङ गरेको सम्झना छ। मम्मीकै प्रेरणाले हामीले टेबल टेनिस खेलेका हौँ,’ रोशनले भने।
रोशनी प्रहरी सेवामा गएर जनताको सेवा गर्न चाहन्छिन्।
भन्छिन्, ‘मेरो एम (लक्ष्य) नै इन्स्पेक्टर बन्ने छ। ब्याचलर (स्नातक) पढाइ पूरा गरेर तीन वर्षपछि सिधै इन्स्पेक्टरमा प्रतिस्पर्धा गर्छु।’
भाइ रोशनको रूचि पनि प्रहरीमै छ।
‘मैले त अहिले नै असई (प्रहरी नायब निरीक्षक) मा फाइट गर्ने सोचेको थिएँ तर मेरो एज (उमेर) नै पुगेन। पछि म प्रहरीमै जान्छु,’ भन्छन्।
दिदीभाइ दुवै जना प्रहरी सेवामा जान इच्छुक हुनुका पछाडि पनि खास कारण छ।
नजिकै अञ्चल प्रहरी कार्यालय थियो। दिदीभाइ नै प्रहरी कार्यालय परिसरमा टेबल टेनिस खेल्न जान्थे। बाल्यकालका दिदीभाइलाई प्रहरीहरले माया गर्थे। उनीहरूलाई प्रहरीको अनुशासन मन पर्थ्यो।
‘प्रहरीहरूले माया गरे। खेल्न दिए। हामीलाई प्रहरीको पोसाक मन पर्थ्यो। हामी पनि पनि प्रहरी हुने भनेर दिदीभाइ कुरा गर्थ्यौं,’ रोशनीले भनिन्।
आमा भागवती कबड्डी खेलाडी हुन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छन्। हाल राष्ट्रिय प्रशिक्षकका रूपमा कार्यरत छिन्।
‘हाम्रो लागि त मम्मी भगवान नै हुनुहुन्छ। मम्मीको संघर्षकै कारणले हामी पनि खेलमा लागेका हौं,’ रोशनी भन्छिन्।
भगवतीको संघर्षपूर्ण यात्रा
भगवतीले सन् २०१२ मा भारतको पटनामा ‘फस्ट वुमन वर्ल्ड कप’ खेलिन्।
उक्त खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो तर नेपाल इरान र इराकसँग पराजय पराजित भयो।
भगवतीको रूचि सानै उमेरदेखि खेलकुदमा थियो। विद्यालयमा हुने दौड, भलिबल, कबड्डी, लङजम्प, हाइजम्प जस्ता खेलमा सबैलाई पछि पार्थिन्। धेरै पटक पुरस्कार जितिन्।
भगवती रूख चढ्ने, हाम फाल्ने, कुद्ने इत्यादि गतिविधिमा खप्पिस थिइन्। उनको जन्मस्थल दाङकै शान्तिनगर गाउँपालिका, पातेटाकुरा हो।
शान्तिनगरकै बिपी मावि, बयालेमा पढ्थिन्। कक्षा ६ मा पुग्दासम्ममा विद्यालयमा खेलाडीका रूपमा उनको परिचय बन्यो। प्रहरीसँग खेल्दै भलिवल सिक्थिन्।
२०५५ साल फागुन २० गते शान्तिनगरकै चिराघाटमा भलिबल प्रतियोगिता हुने तयारी थियो।
अघिल्लो रात तत्कालीन विद्रोही नेकपा माओवाादीले चिराघाट प्रहरी चौकीमा आक्रमण गर्यो। जिल्लामा माओवादीबाट प्रहरी चौकीमा आक्रमण भएको पहिलो घटना थियो। सात जना प्रहरी मारिए। खेल स्थगित भयो। भगवती दुःखी भइन्।
कक्षा ९ मा पढ्दै गर्दा १६ वर्षको उमेरमा भगवतीको बिहे भयो।
‘पढ्दा पढ्दै बिहे गर्ने इच्छा थिएन। बुबाआमाको कुरा काट्न नसकेर बिहे भयो। बिहेपछि पढाइ छुट्यो,’ उनले भनिन्।
भगवतीका श्रीमान प्रहरीका जागिरे थिए। जागिर तुलसीपुरमै थियो।
बिहेको एक वर्षपछि २०६० सालमा रोशनी जन्मिन्, त्यसको दुई वर्ष पछि रोशन। यसपछि दाम्पत्य सुखद् रहेन। भगवतीका अनुसार छोराछोरी जन्मेपछि उनका श्रीमान पियक्कड भए। मदिरा पिएर यातना दिन थाले।
श्रीमानले दुःख दिएपछि भगवती दुई सन्तात बोकेर माइत पुगिन्। छोराछोरी विद्यालय जान थालेपछि माइतमै बसेर आफू पनि पहिले पढेकै विद्यालयमा ९ कक्षामा भर्ना भइन्।
विद्यालय नियमित गइनन्, घरमै पढिन् तर विद्यालयमा हुने सबै खेल गतिविधिमा सहभागी भइन्। शिक्षकहरूले हौसला दिए।
पहिलो प्रयासमै एसएसली उत्तीर्ण भइन्। उनलाई थप पढाइको हुटहुटी जाग्यो। छोराछोरी लिएर तुलसीपुरस्थित माइली दिदीको घरमा बस्न थालिन। राप्ती बबई क्याम्पसमा भर्ना भइन्।
तुलसीपुरका व्यापारी जनकप्रसाद खरालले छात्रवृत्ति उपलव्ध गराउन सघाए। क्याम्पसका प्राध्यापकहरूले खेलमा अघि बढ्न हौसला दिए।
क्याम्पसको प्रतिनिधित्व गरेर गएको भगवतीको टोली जिल्ला स्तरीय कपर्दीमा प्रथम भयो। भगवती सहितको एक टोली मध्यपश्चिम स्तरीय प्रतियोगिता खेल्न सुर्खेत गयो। उनको टोली त्यहाँ पनि प्रथम भयो।
यसपछि भगवती राष्ट्रिय खेलाडीमा छनोट भइन्। प्रशिक्षकको आग्रहमा भारतमा आयोजित वर्ल्ड कप खेल्न गइन्।
भारतबाट फर्केपछि उनलाई राष्ट्रिय खेलकुद परिषदले स्वयंसेवक प्रशिक्षकको मान्यता दियो, परिचयपत्र पाइन्।यसपछि भगवती कपर्दी खेलको उन्नयमा निरन्तर लागिरहिन्। दाङ जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र हुँदा उनी निर्वाचन क्षेत्र नम्बर २ मा कपर्दी प्रशिक्षक नियुक्त भइन्।
उनी हालको राप्ती गाउँपालिकास्थित मौरीघाट माविमा हाँजिर गर्थिन्। निर्वाचन क्षेत्रभित्रका सबै विद्यालयमा पालैपालो कपर्दीको प्रशिक्षण दिन्थिन्।
उनी त्यहाँ चार वर्ष प्रशिक्षक रहिन्। चारै वर्ष जिल्लास्तरीय कपर्दीमा क्षेत्र नम्बर २ नै प्रथम भयो।
भगवती प्यूठान जिल्लामा पनि प्रशिक्षक भइन्। जिल्ला खेलकुद विकास समितिको सदस्य भइन्। त्यसको अवधि सकिँदै गर्दा मुक्ति मावि, रातामाटाले प्रशिक्षक खोज्यो।
त्यसमा भगवती नै छानिइन्। गत असार मसान्तमा विद्यालयसँगको करार सकियो। अहिले उनी खाली छिन्।
भगवती खेलकुद क्षेत्रमै सेवा गर्न चाहन्छिन्। जीवन चलाउन पनि उनले काम गर्नै पर्छ। भन्छिन्, ‘मलाई बसेर खान पुग्दैन। त्यस्तो चाहना पनि छैन। सम्पत्तिको नाममा यी दुई छोराछोरी छन्। यिनकै लागि काम गर्नु पर्छ।’
भगवती तुलसीपुरको बरुवा गाउँमा भाडाको कोठा भाडामा बस्छिन्।
छोरी रोशनीले यही असोज ७ गते टेबलटेनिसमा लुम्बिनी प्रदेशको स्वर्ण पदक पाइन्। छोरीको यो जितमा भगवतीका आँखाबाट हर्षका आँसु खसे।
‘छोरीले खेल्दा म आफैँले खेलेको जस्तो लाग्यो। मैले नै मेडल पाएको जस्तो भयो,’ भगवतीले भनिन्।
रोशनीलाई पनि यस्तै भयो।
‘आफू खेल्दै गर्दा मेरी आमा नै खेल्दै हुनुहुन्छ जस्तो लग्यो। मेडल पाउँदा आमाले जितेको जस्तो लाग्यो,’ उनले भनिन्।
छोराछोरी लिएर निस्केपछि भगवती फेरि घर फर्किनन्। उनी संघर्षरत छिन्। आफ्नो जीवन खेल क्षत्रमै बिताउन चाहन्छिन्। छोराछोरी पढाइ र खेल दुवैतिर उत्कृष्ट बनून् भन्ने चाहन्छिन्।