लङजम्पकी कीर्तिमानी निशा चौधरीले नयाँ रेकर्ड बनाएकी छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ भेलाही गाउँकी १७ वर्षीया निशाले शुक्रबार आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सतर्फ दाङ तुलसीपुरस्थित बेल्झुण्डी रंगशालामा भएको लुम्बिनी प्रदेशस्तरीय छनोटमा निशाले ५ मिटर ५० सेन्टिमिटरको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
गत असारमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुनियर स्पर्धातर्फ निशाले सिनियरतर्फकै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
उक्त प्रतियोगितामा उनले ५ दशमलब ४७ सेन्टिमिटरको राष्ट्रिय र्कीर्तिमान बनाएकी थिइन्। उक्त कीर्तिमान अहिले निशाले तोडेकी हुन्।
को हुन् लङजम्प र दौडमा राष्ट्रिय रेकर्ड तोड्ने निशा चौधरी?
विद्यालयस्तरको सामान्य प्रशिक्षणबाट तुलसिपुर उपमहानगरनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाएकी थिइन्।
जसमा उनले ट्रयाकतर्फ छोटो दुरिको १०० र २०० मिटर दौड र फिल्ड तर्फको लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
निशाले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशलाई स्वर्ण दिलाउने चाहना ब्यक्त गरिन्।
‘म पोखरामा हुने प्रतियोगिताको तयारी जुटेकी छु,’ उनले सेतोपाटीसँग भनिन्, ‘नयाँ कीर्तिमानले थप उत्साहित छु। मेरो प्रयास यो रेकर्ड पनि तोड्नका लागि हुनेछ।’
सामान्य परिवारमा जन्मिएकी निशाले शुक्रबारको नयाँ कीर्तिमानपछि गाउँले समेत खुसी भएको बताइन्।
दाङ एथलेटिक्समा प्रदेश च्याम्पियन
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेर दाङ जिल्ला च्याम्पियन बनेको हो।
त्यस्तै ६ स्वर्ण, ४ रजत र ९ कास्य पदक जितेको बर्दिया दोस्रो र ४ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको कपिलवस्तु तेस्रो भए।
प्रतियोगितामा बाँके जिल्लाले ३ स्वर्ण, १४ रजत र ३ कास्य पदक जितेको थियो।