अभ्यासको लागि आवश्यक राइफल र पेस्तोल उपलब्ध नहुँदा दाङका सुटिङ खेलाडी इँटाको सहायताको अभ्यास गर्न बाध्य भएका छन्।
बाँकेको नेपालगञ्जजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्रदेशस्तरीय छनोटका लागि दाङका खेलाडीले इँटाको सहायतले सुटिङको अभ्यास गर्न बाध्य भएका हुन्।
सुटिङको लुम्बिनी प्रदेशस्तरिय छनोट असोज ९ र १० गते हुँदैछ।
भदौ १९ गते जिल्ला स्तरीय छनोट सकिएपछि सुटिङका खेलाडी यतिबेला तुलसीपुरस्थित टेबलटेनिस कबर्ड हलमा अभ्यास गर्दै आएका छन्।
जिल्लाबाट प्रदेश छनोटका लागि १२ जना खेलाडी छनोटमा परेको र उनीहरुका लागि अभ्यास गर्न आवश्यक राइफल र पेस्तोल उपलब्ध नहुँदा इँटा उठाएर अभ्यास गर्ने गरेको जिल्ला अध्यक्ष केशव चौधरीले जानकारी दिए।
‘जिल्लामा उपलब्ध रहेका दुई राइफल र एउटा पेस्तोल बिग्रिएका छन्,’ अध्यक्ष चौधरीले भने ‘ती बन्दुकले फायर गर्न मिल्दैन। त्यसैले हामी पालैपालो कहिले इँटा त कहिले फायर नहुने राइफल-पेस्तोलले होल्डिङ मात्रै गरेर अभ्यास गर्ने गर्छौं।’
जिल्ला छनोटमा परेका १२ खेलाडीले ४ सिफ्टमा अभ्यास गर्दै आएका छन्। एक सिफ्टमा ३ खेलाडी अभ्यासका लागि आउने गरेका छन्।
आठौं राष्ट्रिय प्रतियोगितामा अध्यक्ष चौधरीले रजत पदक जितेका थिए। तुलसीपुरकै अर्नभ घिमिरेले प्रदेश र राष्ट्रिय दुवैमा स्वर्ण पदक जितेका थिए।
बिग्रिएका कारण निशाना लगाउन नमिल्ने राइफल र पेस्तोलबाट अभ्यास गर्नु पर्दा खेलाडी खिन्न छन्। जसका कारण नवौं राष्ट्रिय प्रतियोगिताको आफ्नो प्रतिस्पर्धाको विषयमा खेलाडी चिन्तित छन्।
‘एकपटक पनि फायर गर्न नपाइ राष्ट्रिय प्रतियोगिताको छनोटमा सहभागी हुँदा कसरी जित्न सकिएला!,’ उनले भने ‘आफ्नो लक्ष्य पूरा गर्न हामीले फायर खुल्ने हतियारले अभ्यास गर्न पाउनुपर्ने थियो।’
खेलाडीले भोग्नु परेको समस्यबारे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु हमाललाई अवगत गराए पनि समाधान हुन नसकेको जिल्ला अध्यक्ष चौधरीले गुनासो गरे।
‘अध्यक्ष हमालज्यूले सुटिङ संघको प्रमुख प्रशिक्षकलाई फोन सम्पर्क गर्दा फोन उठेन भन्नुहुन्छ’ चौधरीले भने ‘अब त हामीले फायर खुल्ने हतियार नपाइ प्रतिस्पर्धामा उत्रन पर्ला जस्तो छ।’