तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि सुरू भएको छ ।
जिल्लामा बढ्दो ब्याडमिण्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिण्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गरे ।
‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित पूर्वका धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टोली सहभागी छन् । पैतालितस वर्षमाथिकाले मात्रै खेल्न पाउने गरी आयोजित भेट्रानतर्फ १६ टोली सहभागी छन् । प्रतियोगितामा विजयी हुनेलाई नगद ४० हजार रुपैयाँसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक संघका अध्यक्ष नारायणलाल श्रेष्ठले बताए ।
यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २५ रुपैयाँ र १५ हजार रुपैयाँसहित कप, पदक र प्रमाण पत्र प्राप्त गर्ने छन् भने भेट्रानतर्फ प्रथम हुने टोलीले २० हजार रुपैयाँ, दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
गतवर्ष यहाँका चर युवाले व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरेपछि सो हलमा जिल्लामै पहिलोपटक ठूलो ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको हो । यहाँका महेश आचार्य, सन्तोष बराल, तेजु खड्का र राजबहादुर थापाले निजी लगानीमा तेह्रथुम कभर्ड हल बनाएका थिए ।
प्रतियोगितामा सहभागी खेलाडीलाई आवासको समेत व्यवस्था आयोजक आफैँले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि करीब पाँच लाख रुपैयाँ खर्च हुने बताइएको छ । रासस