काठमाडौं उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोसाक लगाउनुपर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको बुधबार महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा नीलो पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए।
उनले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताए। प्रहरी नायब उपरीक्षक गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने स्पष्ट पारे।
यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको छ ।