झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् ।
अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १० वटा परिवारलाई घर बनाइदिने भएको हो। ती घर बनाउन समाजले ४५ लाख रुपैयाँको परियोजना तयार पारेको छ।
समाजका वरिष्ठ उपाध्यक्ष छत्र सुब्बाका अनुसार आगामी छ महिनाभित्रमा त्यस बस्तीका विपन्न १० परिवारलाई पक्की घर निर्माण गरिदिने तयारी गरिएको छ। कमल गाउँपालिकाको समन्वयमा ती क्षेत्रका बाढीपीडितलाई पक्की घर निर्माण गरिदिने तयारी थालिएको सुब्बाले बताए।
गत साउनको अन्तिम सातातिर आएको बाढीका कारण मिस्त्री बस्तीका १० घरपरिवार विस्थापित भएका थिए। ती विस्थापित परिवार अस्थायी टहरामा बस्दै आएका छन् । विस्थापित बस्दै आएको तीनकट्ठा जमिन स्थानीय एक दाताले गाउँपालिकालाई दिएका छन् ।
सुब्बाका अनुसार त्यस्ता पक्की घरको संरचना क्रंक्रिटको तथा जस्ताको छानो भएको हुनेछ भने त्यसको लागत प्रत्येकको साढे तीनलाख रुपैयाँ लाग्ने समाजले लागत तयार गरेको छ। ‘समाजमा आबद्ध सबै देशमा रहेका झापाली प्रवासीसँग मिलेर त्यतिका घर बनाइदिन्छौँ’ सुब्बाले भने।
समाजमा आबद्ध भएको हङकङ–झापा मञ्चले ‘विपन्नलाई घर’ कार्यक्रममा सघाउ पुर्याउन दुईवटा घरको खर्च उपलब्ध गराउनेछ। प्रवासमा बस्दै आएका झापालीबीच समन्वय गरी जिल्लाको सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले दुई वर्षअघि मात्र सो समाज स्थापना भएको थियो।
गत असोज २५ गते विर्तामोडमा विभिन्न १८ वटा मुलुकमा बस्दै आएका प्रवासी झापालीको सहभागितामा समाजको पहिलो महाधिवेशन सम्पन्न भएको थियो। त्यसअघि समाजले जिल्लाका ६०७ बाढीपीडित घरपरिवारलाई १२ लाख रुपैयाँका विभिन्न राहत सामग्री वितरण गरेको समाजले जनाएको छ।