कोरोना भाइरसको महामारीले विश्व आक्रान्त थियो। २०७८ सालमा कोरोनाको दोस्रो कहरपछि कतारबाट ४५ वर्षीय गोपाल बस्नेत घर फर्के। लकडाउनले मानिस घरभित्रै थुनिनुपर्ने समय थियो। गोपालले विदेशबाट आउँदा कपाल काट्ने मेसिन (ट्रिमर) पनि साथमै लिएर आएका थिए।
लकडाउनको समयमा कपाल काट्न सैलुन पनि जान नपाइने भएकाले घरमै सजिलो गरी काट्न सकियोस् भनेर उनले ट्रिमर ल्याएका थिए। त्यो समयमा ट्रिमर कमैको घरमा हुन्थ्यो।
लमही नगरपालिका–४ अर्नवाका गोपालका दुई छोरा २० वर्षीय अस्कर र १८ वर्षीय अरूणका लागि कपाल काट्ने मेसिन नौलो थियो। पूरै फुर्सदको समय, रातदिन घरभित्रै बस्नुपर्ने त्यो पल। एक मानिसले अर्को मानिस देख्दा पनि डराउनुपर्ने अवस्था। किशोर अवस्थाका अस्कर र अरूण ट्रिमर ओल्टाइपल्टाइ हेर्थे। त्यसले कसरी कपाल काट्ने भनेर बुवा गोपालले प्रयोग गरी देखाइदिए।
जिज्ञासु मन र कौतुहलताले दाजुभाइलाई आफैले कसरी कपाल काट्न सकिन्छ भनेर चिमोटिरह्यो। दाजुभाइले आपसमा एकले अर्कोको कपाल काट्न र छाँट्न थाले। त्यो क्रमले निरन्तरता पायो।
अर्नवा गाउँमा ट्रिमर उनीहरूको घरमा मात्रै थियो। त्यसको आसपासमा चर्चा हुने नै भयो। उनीहरूले छरछिमेक बालबालिकाको कपाल काट्दै गए। बालबालिकाको कपाल काट्दा नमिले पनि खासै फरक पर्दैन थियो। त्यसले उनीहरूलाई काम सिकायो। उनीहरू अभ्यस्त हुँदै गए। आसपासका साथी भाइहरू पनि उनीहरूकोमा कपाल काट्न आउन थाले। अब उनीहरूले बुवाको कपाल काट्दिन थाले। रहरै रहरमा बस्नेत दाजुभाइका बीचमा कसरी राम्रो कपाल काट्ने भन्ने अघोषित प्रतिस्पर्धा जस्तै चल्थ्यो।
विस्तारै छरछिमेकका अन्य मानिसहरू पनि कपाल काटिदेऊ भन्दै आउन थाले। शनिबार बिदाको दिनमा पाँच सात जना नै आउँथे। पालो कुरेर बस्थे। अब दाजुभाइका नजर आसपासका सैलुन पसलतिर पनि पर्दै गए। चल्दै गएपछि कहिलेकाहीँ त्यहीँ गएर पनि कपाल काटिदिन्थे।
न गह्रौं भारी बोक्ने पर्ने, न धेरै लगानी चाहिने। एउटा कैंची र ऐना भए पुग्ने। अरूणको मनमा सैलुन आम्दानीको उचित स्रोत रहेछ भन्ने सोच बढ्न थाल्यो। रहरै रहरमा सुरू गरेको कपाल काट्ने कामलाई पेसा नै बनाउने निष्कर्षमा पुगे उनी। घरमा सल्लाह गरे। बुवा गोपाल, ४० वर्षीया आमा रेश्मा र दाजु अस्कर सबै जनाले ठिक छ भनिदिए। कुनै पनि काम सुरू गर्नुभन्दा पहिला निपूर्णता चाहिन्थ्यो। कलिलै उमेरका अरूण थप राम्रो कपाल काट्ने सीप सिक्न चाहन्थे।
घर सल्लाहपछि उनी काठमाडौंस्थित गोंगबु पिजी मलमा पुगे। तीन महिनाको प्याकेजमा पुरूष र महिलाको कपाल काट्न सिकाइन्थ्यो। झन्डै एक लाख रुपैयाँ खर्च गरेर उनले तालिम लिए। कलिलै उमेर भए पनि अब अरूणमा आत्मविश्वास भरिएका थियो। मज्जाले व्यावसायिक रूपमा कपाल काट्न सक्छु भन्ने लाग्न थाल्यो। पेसा यही गर्ने हो भने अरूकोमा काम गर्नुभन्दा आफ्नै सैलुन खोल्नुपर्छ भन्ने सोचे उनले।
अरूणका दाजु अस्कर कहिलेकाहीँ लमही–५ रत्ननाथ बजारस्थित रोयल युनिसेक्स सैलुनमा आउजाउ गरिरहन्थे। कहिलेकाहीँ उनले अरूको कपाल पनि काटिदिन्थे। दाजुकै कारण अरूण पनि त्यो पसलमा दुई चार दिन काम गर्न गए। त्यही क्रममा अरूणले कुरा चलाए।
‘पसल बेच्ने हो?’
त्यो मधेसका सञ्जय जैसवालको पसल थियो। उनी पनि पसल बेच्न खोज्दै रहेछन्।
कुरा मिलिहाल्यो। उनीहरूले पाँच लाख रुपैयाँमा पसल किने। दाजुभाइ बिहानभर पढ्न जाने, दिनभर कपाल काट्ने र आफ्नो पढाइ खर्चको जोहो आफैले गर्ने सल्लाह भयो।
नजानेको कुरा भाइ अरूणले दाजु अस्करलाई सिकाउँदै गए। अस्करले पनि युट्युबमार्फत् नयाँ डिजाइन र स्टाइलका कुराहरू सिक्दै गए। काम गर्दै जाँदा उनी पनि निपूर्ण हुँदै गए।
जैसवालले राम्रो गर्न सकिरहेका थिएनन्। उनले हरेश खाएरै पसल बेचेका थिए।
‘यो पसलको त्यतिखेर इमेज राम्रो थिएन। मार्केट डाउन भइसकेको थियो,’ अस्करले भने, ‘सुरूआती दिनहरूमा कपाल काट्न दिनमा एक/दुई जना मात्रै आउँथे। तर, हामीले हरेश खाएनौं र निरन्तर मेहनत गर्दै जाँदा आज निकै राम्रो चलेको छ।’
उनीहरूले यो सैलुन चलाउन थालेको डेढ वर्ष भयो।
लमही नाई संघले पुरुषको कपाल काटेको प्रतिव्यक्ति एक सय रुपैयाँ निर्धारण गरेको छ। यी दाजुभाइले पनि सोही रेटमा कपाल काट्छन्। महिलाको कपाल काट्न अझै सुरू गरिसकेका छैनन्। छिट्टै त्यो पनि सुरू गर्ने उनीहरूको योजना छ। तुलसीपुर र घोराही उपमहानगरपालिकामा एक जनाको कपाल काटेको न्यूनतम शूल्क एक सय ५० छ।
अचेल उनीहरू दैनिक सरदर तीन हजार रुपैयाँ कमाउँछन्। यी दाजुभाइ मासिक ५० देखि ६० हजार सजिलै कमाइ भएको बताउँछन्।
‘सीप भए आफै आत्मबल बढ्दो रहेछ,’ अस्कर भन्छन्, ‘हामीभन्दा पहिला पसल गर्ने दाजुलाई त्यही भएर गाह्रो भएको थियो।’
यी बस्नेत दाजुभाइको पसल चम्कनुको अर्को प्रमुख कारण सहपाठीहरू हुन्। सुरूमा केहीले गिज्याउने भावले कुराहरू गरे पनि बिस्तारै उनीहरूको पसलमा सहपाठीहरू लस्करै आउन थाले। त्यसपछि पसलले चर्चा मात्रै बटुलेन, कमाइ पनि राम्रो हुँदै गएको अरूणले बताए।
‘हामीले कपाल काट्न थालेपछि एक साथीले अर्को साथीलाई बोलाउँदै गए,’ अस्करले भने, ‘हामीले पनि उनीहरूले जस्तो भन्थे उस्तै कपाल काटिदियौं र उनीहरूलाई त्यो मनपर्दै गयो।’
अरूण बीचमै बोले, ‘कतिपय साथीहरू त युट्युबमा देखाउँदै यस्तै चाहियो भन्दै आउँथे र उनीहरूले जस्तो भने त्यस्तै गरिदिएपछि खुसी हुन्थे। हाम्रो पेसा नै त्यस्तै हो। यहाँ आउने जतिलाई कपाल चिटिक्क र दारी सफाचट अनि हिरो बनाई पठाइदिन्छौं।’
पहिले पहिले क्षेत्रीको बच्चा भएर पनि के कपाल काटी बस्छौं भन्नेहरू आज उनीहरूको प्रशंसा गर्न थालेका छन्।
‘हाम्रो समय कलेजपछि त्यस्तै डुल्दै बित्छ। तिमीहरू पढाइ सँगसँगै कपाल काट्ने पेसा पनि गरेर खर्चको व्यवस्थापन गरिरहेका छौ। वास्तवमा यो राम्रो गरिरहेका छौ भनेर साथीहरूले प्रेरणा थपिदिने गर्छन्,’ अस्करले भने।
दाजुको कुरा नसकिँदै अरूण बोल्न थाले, ‘पहिला पहिला हाम्रा साथीहरू हामीलाई के हो पहाडिया भएर पनि कपाल काट्ने भन्थे र अहिले उनीहरूले तिमीहरूले राम्रो पेसा रोजेका रहेछौ तिम्रो लाइफ यही पेसाबाट आनन्दले चल्छ भन्ने गर्छन्।’
अस्कर काम सानो ठूलो नहुने बताउँछन्। बरू कुनै पनि काम कलात्मक रूपमा गर्न सक्नु मान्छेको खुबी हुने उनी बताउँछन्। अहिले पनि लमहीमा अधिकांश सैलुनहरू भारतीय र मधेसका मानिसहरूले चलाइरहेका छन्। उनी काम गर्न लाज मान्ने प्रवृत्ति छोडेर आफ्नै ठाउँमा रूचि अनुसारका काम गर्न सक्ने हो भने ठूलो रकम विदेश जानबाट रोकिने ठान्छन्।
कैंचीसँगको सम्बन्ध कस्तो लाग्यो?
अरूण बोले, ‘रमाइलो लाग्छ। म निकै खुसी छु। मधुर धुनमा मन परेको गीत बजाउँदै काम गर्दा समय बितेको थाहै हुँदैन रहेछ।’
आफूखुसी गर्ने हुँदा काममा कुनै प्रेसर नरहेको पनि उनले बताए।
आफ्ना साथीभाइका साथै नयाँ पुराना पुस्ता सबैसँग सैलुनमा भेट हुने र धेरैको कान नजिकै खुसुखुसु कुरा गर्न पाइने हुँदा आफू रमाइरहेको अरूणले बताए।
‘चिनजान बढ्दै जाँदो रहेछ,’ अस्कर बोले, ‘पहिला सीमित साथीभाइले मात्रै चिन्थे तर आज यहाँ अधिकांशले चिन्छन्।’
उनीहरूका उमेरका धेरै किशोरकिशोरीले अहिले विदेशको सपना संगाल्ने गरेका छन्। तर, अस्कर र अरूणको चाहना विदेशतिर जाने छैन। उनीहरू यही सैलुन पसललाई थप विस्तार गरी व्यवसायलाई अझै राम्रो बनाउन चाहन्छन्।
महिलाको पनि कपाल काट्ने, कपालमा रंग लगाउने लगायतका कामहरू एकै थलोबाट गर्न सक्ने पसल निर्माण गर्ने सोच उनीहरूको छ।
‘पहिला यो हाम्रो पार्टटाइम जब जस्तै थियो,’ अरूणले भने, ‘तर मेरो लागि आज यो फुलटाइम जब जस्तै बन्दै गएको छ।’
यो बीचमा उनीहरूले चार जनालाई तालिम पनि दिइसकेका छन्। उनीहरू अहिले ग्रामीण भेगमा आफ्नै पसल सञ्चालन गरेर काम गरिरहेका छन्।
‘यो पेसा सरल र सहज छ अनि पैसा पनि खुरूखुरू कमाइ हुन्छ,’ अरूण भन्छन्, ‘अरू पेसामा जस्तो लगानी डुब्ने वा दलालले खाइदेला भन्ने चिन्ता छैन।’
बुवा गोपाल र आमा रेश्मा पनि छोराहरूको मेहनत देखेर मख्ख छन्। विगतमा अरूका नाइट बसहरू चलाउने गोपाल अचेल पनि बस चलाउँछन्। तर, राति होइन, दिउँसो। स्थानीय रूटमा। रा १ ख १६७४ नम्बरको बस गोपालले लमहीदेखि भालुवाङमा गुडाउँछन्। आमा गृहिणी हुन्।
‘खेल्ने, हाँस्ने उमेरमा छोराहरूले आफ्नै खुट्टामा उभिन सिके,’ गोपालले भने, ‘उनीहरू आफ्नो पढाइ खर्च मात्रै हैन, घरको खर्च पनि उठाउन सक्ने भइसकेका छन्।’
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जस्पुरका १९ वर्षीय इस्लाम राई बस्नेत दाजुभाइकोमा कपाल काट्न आएको बेलामा भेटिए।
हाल लमहीमा बस्दै आएका राईले धेरै पटक उनीहरूसँग कपाल काटेका छन्।
‘अरूणको हातमा जादु छ,’ राईले भने, ‘बढिया बाल काट्छ म यहाँ आएदेखि अन्त कपाल काट्न जान मन नै लाग्दैन।’
बाँकेको खासकुस्मा गाउँपालिका–१ कुसुमका २३ वर्षीय टीकाराम सुनार पेसाले प्रहरी हुन्।
पहिलो पटक बस्नेत दाजुभाइकोमा कपाल काट्न पुगेका उनले नेपाली दाजुभाइ र त्यसमा पनि रैथाने युवाहरूले कपाल काट्ने पेसा अंगाल्नु समाजका लागि पनि उदाहरणीय काम मान्न सकिने बताए।
आफ्नै ठाउँमा केही गर्न चाहाने युवालाई साथ समर्थन र हौसला समाजले दिनुपर्ने उनी ठान्छन्।
‘अहिलेका युवा प्लसटु पास गर्नासाथ विदेश ताक्छन्,’ उनले भने, ‘तर, यी दाजुभाइ मलाई फरक लागे। उनीहरूले जे गरिरहेका छन्, त्यो अरूका लागि पनि अनुकरणीय छ।’