नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ।
तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहिबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ। यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
काग तिहार
यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ। वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ। आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ। कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।
आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। ‘तिहारमा काग, कुकुर, गाई, गोवर्द्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ’, उनले भने। यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ।
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ : वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे। उनी दानी राजाका रूपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो। भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूप धारी भगवान् विष्णुले पाउँ राख्दा पातालमा भासिएको कथा वामनलगायत पुराणमा वर्णन गरिएको छ।
विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताए।
यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनी भट्याउने गर्छन्। लक्ष्मीपूजाका दिनमा भैलो र गोवर्द्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ। भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ। अहिले महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन् ।
लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको सुरूवातदेखि नै गर्न थालिएको छ। अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन्। यसकारण तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ।
तिहारको विकृतिका रूपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ। यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन्। तिहारको अन्तिम दिन कात्तिक ४ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ ।
यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ। भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि सो साइत शुभ रहेको अध्यक्ष प्रा डा गौतमले बताए।
धन्वन्तरि जयन्ती
वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरि जयन्ती मनाइँदैछ। देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिविको आङ्गिक क्याम्पसका रूपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ। हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।
धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।
धनतरेस
कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ। धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ।