३४ वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालू आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।
कुल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालू आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए।
‘पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम सँगसँगै स्तरोन्नतिको काम भइरहेको छ’– उनले भने, ‘चालू आवमा स्याडीगाडसम्मको १३ किमी कालोपत्र भइसक्ने छ ।’ अहिले स्याडीगाडसम्म सडकलाई कालोपत्र गर्ने कार्य भइरहेको छ ।
यस्तै स्याडीगाडदेखि मेलौलीसम्मको थप १८ किमीलाई कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भइसकेको जनाइएको छ । पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाड खोला र बाग्गोठगाड खोलामा पक्की पुलसमेत निर्माण भइसकेको छ ।
यसैबीच बैतडीको तल्लोसोराडका स्थानीय बासिन्दाको सडक सपना करीब ३४ वर्षपछि पूरा हुने भएको छ । आव २०४०/४१ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलान्यास गरेका पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालू आवमा सम्पन्न हुने डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ ।
सडकको पहुँच भएपछि भारतको निरर्भता हटेको स्थानीय वीरेन्द्र महताले बताए । उनले भने, ‘दैनिक उपभोग्य सामानका लागिसमेत भारत जानुपर्ने बाध्यता हट्दै गएको छ ।’
यस्तै, तल्लोसोराडमा सडक पुगेपछि कृषिउपजले पनि बजार पाएकाले किसान व्यावसायिक खेतीतर्फ लागेका छन् ।