एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । विद्युत चुहिएर आगलागी भएको बताइएको छ ।
३३ केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने यन्त्र आगलागीका कारण नष्ट भएको हो । उनले भने, ‘फिडरमा आगलागी भएसँगै नेपालबाट प्रसारण हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।’
अहिले भारतबाट आउने विद्युत् प्रसारण भइरहेको र भारतबाट आयातीत विद्युतले भार धान्न नसक्ने भएकाले साँझमा विद्युतभार कटौती हुने जानकारी जोशीले दिए ।
साँझ ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म विद्युतभार कटौती हुने बताइएको छ । बिग्रेको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउने र बनाउन पाँच छ दिन लाग्नसक्ने जनाइएको छ ।