जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ ।
केन्द्रले गरीब, असहाय, अशक्त, द्वन्द्वपीडित र पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको जनाएको हो ।
केन्द्रद्वारा प्राप्त विवरणअनुसार २०७३/७४ मा देवानीतर्फ १०२, फौज्दारीतर्फ ७१, ठाडो मुद्दा दर्तातर्फ ३५९ गरी कुल ५३२ मुद्दामा कानूनी सेवा प्रदान गरिएको उल्लेख छ ।
आगामी आवमा लक्षित समुदायलाई अझ बढी समेटिने र यसका लागि व्यापक प्रचारप्रसार र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको केन्द्रका अधिकृत रामप्रसाद गौतमले जानकारी दिए ।
जिल्ला कानूनी सहायता समिति तथा सो केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा केन्द्रको सेवालाई अझ प्रभावकारी बनाइ विस्तार गर्दै जाने बताइएको छ । रासस