स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही पेम्बा शेर्पालाई सम्मान गरेका छन्।
मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा मन्त्री पौडेलले सोलुखुम्बुका ३७ वर्षीय शेर्पालाई सम्मान गरेका हुन्।
'तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्द्धन दूतका रूपमा नियुक्त गर्नेछ,' मन्त्री पौडेलले भने।
मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्दै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गरे।
मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं,’ उनले भने, ‘यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ।’
स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरूको स्वास्थ्य बीमा नभएको भन्दै बीमाका लागि पहल गर्ने बताए।
आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास बढेको बढाए। 'मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ,' उनले भने, 'आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरेँ।'
वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागेपछि स्वदेश फर्किएका शेर्पाले तीन वर्षअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए।
सन् २००२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन्।