पोखरा– १७ स्थित छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीलाई नेकपा बहुमतका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।
शुक्रबार पहारीलाई सार्वजनिक स्थलमा कालो मसी छर्किएर उक्त पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।
कालो मसी छर्किएपछि नेकपा बहुमतको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का राजन साउदले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएका छन्।
छोरेपाटन माविले भोगचलन गर्दै आएको पातले छाँगो पोखरा महानगरलाई बुझाएको र महानगरले विद्यालयलाई दिने भनेको रकम भुक्तानी नदिएको निहुँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कालो मसी छर्किएको विज्ञप्तिमा उल्लेख छ।
पातले छाँगो अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकले टिकट काट्नुपर्ने व्यवस्था छ।
२०३५ सालदेखि टिकटबाट उठेको रकम विद्यालयले खर्च गर्दै आएको थियो। विद्यालयमा हाल २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब लगायत विद्यालयको भौतिक पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्दै आएको थियो।
महानगरले पातले छाँगोमा पर्यटकीय पूर्वाधार बनाउने भन्दै गत वर्ष सेती क्यानोन प्रालिलाई ठेक्का दिने सम्झौता गरेको थियो।
उक्त सम्झौता गर्न र महानगरले विद्यालयलाई वार्षिक ३ करोड दिने सम्झौता गरे पनि उक्त रकम भुक्तानी नभएको भन्दै अध्यक्ष पहारीलाई कालो मसी छर्किएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा विद्यालयका प्रध्यानाध्यापक डिल्लीराम शर्मालाई पनि राजीनामा दिन माग गरेको छ।
विद्यालयका प्रध्यानाध्यापक शर्माले अध्यक्ष पहारीमाथि भएको दुर्व्यवहारको निन्दा गरेका छन्।
विद्यार्थी संगठनका नाममा अध्यक्षमाथि भएको दुर्व्यवहार सम्बन्धित संगठनकै लागि प्रत्युत्पादक हुने भन्दै फेसबुकमा लेखेका छन्– ‘आदरणीय बद्री सरप्रति भएको अपमानजनक, अमानवीय र बर्बरतापूर्ण व्यवहारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछु र सम्बन्धित संगठनले आफ्नो भुल महसुस गरी क्षमायाचना गर्नेछन् भन्ने अपेक्षा गर्दछु।’
अध्यक्ष पहारी सोही विद्यालयका पूर्वप्रधानाध्यापक रहेको भन्दै पेशागत निष्ठा र आर्थिक व्यवहारमा अत्यन्त इमानदार व्यक्ति रहेको पनि बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले विद्यालयका अध्यक्ष पहारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको बताए। उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने एसपी ओलियाले बताए।
‘विद्यालयका अध्यक्ष ज्युलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूको हामीले खोजी गरिराखेका छौं,’ उनले भने, ‘छिट्टै पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौं।’