सिन्धुपाल्चोकमा फेला परेको एउटा ग्रिनेड दुई दिनपछि निष्क्रिय बनाएको छ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले इन्द्रावती गाउँपालिका-१ सिम्पलकाभ्रे गोल्मेमा फेला परेको ग्रिनेड शुक्रबार बिहान साढे ९ बजे निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवराज खरेलले जानकारी दिए।
उनका अनुसार गोल्मेमा मखमली आले मगरको घर नजिकै शौचालय निर्माण गर्न जग खन्ने क्रममा बुधबार दिउँसो १ बजेतिर ग्रिनेड फेला परेको थियो।
उक्त ग्रिनेड फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक मधु खड्काको कमाण्डमा पुगेको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो। तर उक्त ग्रिनेड निष्क्रिय बनाउन दुई दिन लागेको छ।
‘हामीले घटनास्थललाई सुरक्षित राखेर नेपाली सेनाको यहाँको युनिटलाई खबर गरेका थियौं,’ उनले भने, ‘सेनाको हेडक्वार्टरबाट अनुमति लिन समय लागेकाले आजमात्रै निष्क्रिय बनाइएको हो।’