मोरङमा झारफुक गर्ने बहानामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-६ बस्ने ३५ वर्षीय महमद साविर पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो।
उनले विराटनगर महानगरपालिका-६ रामपुरस्थित डेरा गरि दिदीसँग कोठामा बस्दै आएकी १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको मंगलबार (जेठ १३) गते उजुरी आएको छ।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार बालिका ५/६ महिनादेखि अचानक वेहोस हुने, डराउने आत्तिने भइरहेकी थिइन्। उपचारका लागि अस्पताल लैजादा पनि केही सुधार नआएपछि झारफुक गर्न लगेको खुलेको छ।
'छिमेकीहरूको सहयोगमा महमदले झारफुक गर्ने बताएपछि लगिएको रहेछ,' डिएसपी जोशीले भने, 'तीन चार महिनादेखि बालिकालाई झारफुक गर्ने बाहानामा यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ।'
बालिकाको परिवारसँग उपचारका लागि भनेर ७० हजार रूपैयाँ मागेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ।
महमदविरूद्ध बालबालिका सम्बन्धी कसुर (बालयौन दुर्व्यवहार) मा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।