विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारलाई शुक्रबार सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
५१ हजार रूपैयाँ राशीको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार सुवास ढकाललाई प्रदान गरेको छ। ढकाल नेपाल खोज अनलाइनका प्रधान सम्पादक हुन्।
त्यस्तै ५० हजार रूपैयाँ राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं उदघोष डेली डटकमका सम्पादक बन्धु पोखरेललाई प्रदान गरेको छ।
२१ हजार रूपैयाँ राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिकका अनिल श्रेष्ठलाई प्रदान गरेको हो।
१० हजार रूपैयाँ राशीको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार कोशी सन्देस डटकमकी डेरूमा दाहाल निशालाई प्रदान गरेको छ।
सम्मानित तथा पुरस्कृत पत्रकारहरूलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले सम्मान पत्र प्रदान गरेका थिए।