हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।
महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसर झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घन्टामा ५ मिलिमिटर वर्षा भएको छ।
ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी, सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भएको छ।
कैलालीक धनगढीमा पछिल्लो एक घन्टामा ११.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कञ्चनपुरको दोधारामा १०.२ र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ।
सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।