संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डर दुर्गा प्रसाईंका अंगरक्षक दिपक खड्का विरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले खड्का सहित ९ जनाविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।
मुद्दा नचलाउने निर्णय भएकाहरूमा गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, एनी कुँवर भन्ने अनिता कुँवर, दिपक खड्का, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेत छन्।
उनीहरू विरूद्ध प्रमाण प्राप्त गर्न नसकेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो।
'प्रस्तुत वरदातमा संलग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले उनीहरूमाथि थप प्रमाण प्राप्त भएका बखत कानुन बमोजिम हुने नै हुँदा हाललाई उनीहरूमाथि मुद्दा नचलाउने गरी आजै निर्णय गरिएको छ,' सरकारी वकिलले गरेको निर्णयमा भनिएको छ।
दुर्गा प्रसाईंका अंगरक्षक खड्का विरूद्ध पनि प्रमाण नभेटिएकाले मुद्दा नचलाउने निर्णय गरिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।
'उहाँ बडीगार्डको रूपमा तलबमा काम गर्ने हो। उहाँले ड्युटी गरेको मात्रै देखियो। उहाँ आफै संलग्न भएर केही काम गरेको देखिएन। सँगै हिँडेको मात्रै देखियो,' उनले भने, 'त्यस कारण मुद्दा नचलाउने निर्णयमा पुगेका हौं।'
खड्कालाई प्रहरीले दुर्गा प्रसाईंसँगै चैत २९ गते भारतको असमबाट पक्राउ गरी नेपाल ल्याएको थियो।
चैत १५ गतेको घटनापछि एनी कुँवर पनि सामाजिक सञ्जालमा विवादमा आएकी थिइन्। पत्रकार सुरेश रजक जलेको घरबाट बाहिर निस्किँदै गरेको भिडिओमा उनी देखिएकी थिइन्।
त्यस कारण उनको संलग्नता उक्त घर जलाउनेमा पो थियो कि भन्ने आशंका थियो। तर उनको पनि संलग्नता पुष्टि नभएको सहन्यायाधिवक्ता काफ्लेले बताए।
'उहाँको कार्यक्रममा गएर केही गरेको देखिएन। तर उहाँले कतिपय घटनामा आफै सूचना दिएको, पत्रकारको रूपमा गएको भन्ने देखियो। घटनास्थलमा पुगेको देखिए पनि आपराधिक गतिविधिमा संलग्न भएको देखिएन,' उनले भने।
यसरी सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेसँगै सबैलाई छाड्न आदेश दिइसकेको पनि उनले बताए। सरकारी वकिलको निर्देशनसँगै प्रहरीले ९ जनालाई नै छाडिसकेको छ।
यो निर्णय सरकारी वकिलले उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाउँछ। उच्च सरकारी वकिलले त्यसमा निर्णय लिनेछ भने अन्तिम रुप दिन महान्यायाधिवक्ता कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ।
सरकारी वकिलको कार्यालयले ६१ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो। १०८ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको भए पनि ६१ जना विरूद्ध मात्रै आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
त्यस बाहेक चार जना नाबालिक विरूद्ध सोमबार बाल अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ।