कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्याउने प्रहरी जवान चन्द्रीका देउवालाई प्रहरीले सम्मान गरेको छ।
उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले कार्यालयमै बोलाएर नगद पुरस्कारसहित प्रसंशा पत्रले सम्मान गरेको हो।
उनले मंगलबार बिहान गोदावरी नगरपालिका-१ बसन्तपुरस्थित गुह्रेश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छट्पटाइरहेकी २४ वर्षीया चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन्।
प्रहरी पोसाकमै सुत्केरी गराएको भिडिओ सामाजिक सञ्जालमा आएपछि उनको कामको चर्चा भइरहेको थियो। सम्मानयोग्य काम गरेकाले कार्यालयले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी राजकुमार सिंहले जानकारी दिए।
'हामीले प्रहरी नियम अनुसार नै नगद दिएर सम्मान गरेका हौं। राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ,' उनले भने।
चन्द्रीका प्रहरी चौकी खैरानीमा कार्यरत छिन्। एक दशकदेखि प्रहरी सेवामा काम गर्दै आएको उनी बताएकी छन्।
'आफ्नो कामको मूल्यांकन गरेर पुरस्कार प्रदान गरिदिनु भएकोमा प्रहरी र आम नागरिकप्रति धन्यवाद व्यक्त गर्दछु,' देउवाले भनिन्।
उनले केन्द्रीय प्रहरी कार्यालयले पनि २५ सय नगदसहित पुरस्कृत गरेको बताइन्।
यो पनि:
सुत्केरी बेथाले च्याप्यो, सकिनन् अस्पताल पुग्न