बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा चितवन प्रहरीले पाँच जना युवाहरूलाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १४ स्थित एक घरमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार गत वैशाख २५ गते साँझ ५ बजे ती बालिकालाई उनका साथीले आफ्नो घरमा बोलाएका थिए।
साथीले आफ्नो घरमा आमाबुबा भएको भन्दै अर्को साथीको घरमा जाने प्रस्ताव गरे। उक्त घरमा कोही नभएको मौका छोपेर बालिकामाथि ६ जनाले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
बालिकालाई जबर्जस्ती मिनरल वाटरको बोतलमा रहेको सेतो रङको रक्सी खुवाएर अर्धचेत अवस्थामा बलात्कार गरिएको जाहेरीमा उल्लेख रहेको डिएसपी खनालले बताए।
राति ९ बजेदेखि बिहान ६ बजेसम्म सामूहिक बलात्कार गरेको र ६ जनामध्ये एकले अश्लील भिडिओ पनि खिचेको जाहेरीमा उल्लेख छ।
अश्लील भिडिओ देखेपछि बालिकाले आफ्नी माइजूलाई घटनाको विषयमा जानकारी गराएकी थिइन्। त्यसपछि उनका मामाले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीले सूचना पाएलगत्तै भरतपुर–१४ बाट ५ जना युवाहरूलाई पक्राउ गरेको थियो। घटनामा संलग्न एक जना फरार रहेको डिएसपी खनालले जानकारी दिए। ६ जनाकै विरूद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको उनले बताए।
प्रहरीले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिएको छ।