झापाको मेचीनगर नगरपालिका–९ थोप्लेबिरानमा मंगलबार बिहान आगलागी हुँदा एक परिवारको दुई तले घर जलेर पूर्णरूपमा नष्ट भएको छ।
स्थानीयबासी मणिराज अधिकारीको घरमा बिहान करिब ८:२० बजे विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
पहिलो तला इँटाको पर्खाल र दोस्रो तला काठ तथा टिनले बनेको उक्त घर पूर्णरूपमा जलेको हो।
नेपाल प्रहरी, स्थानीयबासी र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।
आगो ९:२५ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट करिब १० लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ। जसमा लत्ता–कपडा, भाँडा–वर्तन, अन्नपात, फर्निचर र नगदसहित घर पूर्णरूपमा नष्ट भएको हो।