बाँकेमा ७ दिनदेखि बेपत्ता बालकको शव गाडेको अवस्थामा फेला परेको छ।
बैजनाथ गाउँपालिका– ४ नौलापुरस्थित कुलोमा ९ वर्षीीय कुशल बुढाको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले जानकारी दिए। शव सोमबार साँझ ५ बजेतिर फेला परेको हो।
कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि बेपत्ता थिए।
शव फेला परेको ठाउँबाट ९० फिट टाढा उनको साइकल फेला परेको हो। साइकल पनि परालले छोपेको अवस्थामा फेला परेको थियो। बालककै रातो टिसर्ट पनि १३ फिट टाढा गाडिएको अवस्थामा फेला परेको छ।
कुशलकी आमा ३२ वर्षीया यशोदा बुढाले छोराको कपडाबाट पहिचान गरेकी थिइन्। शव गलिसकेको अवस्थामा फेला परेको हो।
यशोदाले छोरा हराएको भन्दै वैशाख ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन्।
स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर भएको थियो। प्रहरीको टोलीले तालिम प्राप्त कुकुर पनि झिकाएर अनुसन्धान गरेको थियो।
इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार बालकको हत्या पछि शव गाडेको स्पष्ट भएपनि हत्यामा संलग्न व्यक्तिको पहिचान हुन बाँकी छ।
कुशलको साइकल फेला परेको भएपनि उनी आफैँले घटनास्थलसम्म लगेको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीले अहिले आमा यशोदा र सौतेलो बुवा दैलेखको दुल्लु नगरपालिका– १० घर भई हाल यशोदासंगै कोहलपुर–११ मा डेरागरी बस्ने ३३ वर्षीय निरकनाथ योगीलाई नियन्त्रणमा लिएको छ।
कुशलसँगै अध्यनरत विद्यालयका साथीहरू, शिक्षक लगायतसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। कुशलका बुवाले झन्डै ७ वर्ष पहिले आत्महत्या गरेपछि आमा यशोदाले दोस्रो विवाह गरेकी थिइन्।