ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा प्रहरीले विवरण सार्वजनिक गरेको छ।
उक्त घटना २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको प्रहरीले बताएको छ।
ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।
उक्त घटनामा संलग्न भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरेको छ।
‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा झिकाइएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।
भिडिओमा सवारीसाधान आवतजावत भइरहेको देखिन्छ भने सडक छेउमा ट्राफिक प्रहरीले एक पुरूषलाई कुटपिट गरेको देखिन्छ।
एक ट्राफिक प्रहरीले ती पुरूषलाई खुट्टाले हान्दै, उचाल्दै पछारेका छन् भने ती पुरूष अचेत भएको देखिन्छ।
साथै ट्राफिक प्रहरीले कागजातसमेत ती पुरूषको मुखमा फालिदिएका थिए। त्यहाँ चार जना ट्राफिक प्रहरी देखिए पनि एक जनाले कुटपिट गरेको भिडिओमा देखिन्छ।
उक्त भिडिओ सामाजिक सञ्जालमा आएपछि धेरैले प्रहरीको व्यवहारलाई लिएर आलोचना गरेका छन्।